गृहपृष्ठ हनी ट्रयापमा सरकारी कर्मचारी: घर नदिए बलात्कार मुद्दाको धम्की

हनी ट्रयापमा सरकारी कर्मचारी: घर नदिए बलात्कार मुद्दाको धम्की


८ जेठ, काठमाडौं । गत चैतमा करिब ५५/५६ वर्षका एक सरकारी कर्मचारीले फेसबुकमा ‘टिकटक गर्ल’ नामबाट आएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरे। युवतीको आकर्षक तस्बिर देखेपछि उनले केहीबेरमै रिक्वेस्ट एक्सेप्ट गरेका थिए।

पहिलो साताभरि दुवैतर्फबाट कुनै कुराकानी भएन। एक सातापछि ‘टिकटक गर्ल’ले पहिलोपटक ‘हाई’ लेखेर म्यासेज पठाइन्। कर्मचारीले तुरुन्तै ‘हेल्लो’ भन्दै जवाफ फर्काए।

त्यसपछि सुरु भएको कुराकानी क्रमशः गहिरिंदै गयो। सामान्य परिचयबाट सुरु भएको संवाद म्यासेन्जरमा अन्तरंग कुराकानीसम्म पुग्यो। दुवैबीच आकर्षण बढ्न थाल्यो।

गफगाफ सुरु भएको झन्डै एक सातापछि ती युवतीले ठमेलमा कफी पिउन बोलाउने प्रस्ताव राखिन्। सरकारी कर्मचारीले पनि सहजै स्वीकार गरे। तय भएको दिन ठमेलमा भेट भयो। फेसबुकमा ‘टिकटक गर्ल’ नामले चिनिएकी युवती दुई जना साथीसहित आइन्। पहिलो भेटमा उनीहरूले कफी पिएर छुट्टिए।

पछिल्लो भेट भने घातक बन्यो। एक सातापछि फेरि ‘टिकटक गर्ल’बाट ठमेलमा खानपिनको प्रस्ताव आयो। यो प्रस्ताव पनि कर्मचारीले स्वीकृत गरे। वैशाखको मध्यतिर ठमेलको एक रेष्टुरेन्टमा उनीहरू भेटिए। तीनै जनाले मदिरा सेवन गरे। युवतीहरूले थोरै मात्र पिए तर ती कर्मचारीलाई निरन्तर सर्भ गरिरहे।

केही बेरमै ती सरकारी कर्मचारी अचेत भए। जब होशमा आए, उनी रेष्टुरेन्टको कोठामा एक्लै थिए। नसाको असर कम भएपछि उनी घर फर्किए।

सबै सामान्यजस्तै लागिरहेको थियो। तर झण्डै १० दिनपछि नयाँ फेसबुक आईडीबाट पुनः फ्रेन्ड रिक्वेस्ट आयो, जुन उनले फेरि स्वीकार गरे। त्यसपछि म्यासेन्जरमा फोटा र भिडियोसहितको सन्देश आयो। त्यहीबेला ती कर्मचारीलाई ठमेलको घटना स्मरण भयो।

अर्धनग्न अवस्थामा युवतीहरूसँग खिचिएका फोटा र भिडियो पठाएर ती कर्मचारीलाई ब्ल्याकमेल गर्न थालियो। ‘काठमाडौंमा एउटा घर देऊ, नभए चार आना जग्गा देऊ, होइन भने बलात्कारको मुद्दा हाल्छु र मिडियामा पनि लैजान्छु’ भन्ने धम्की दिन थालियो।

त्यसपछि दुई जना पुरुष पनि ती कर्मचारीको सम्पर्कमा आए। एक जनाले ‘तिमीले मेरी दिदी–बहिनीलाई यस्तो गर्‍यौ’ भन्दै धम्क्याए भने अर्काले ‘केस मिलाउँछु’ भन्दै केही रकममा कुरा टुंग्याउन फकाए।

ब्ल्याकमेल र धम्कीको अत्यधिक चाप सहन नसकेर ती सरकारी कर्मचारी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगे। सम्पूर्ण विवरण बताएपछि प्रहरीले योजना बनाएर उनीहरूलाई पक्राउ गर्ने तयारी गर्‍यो।

प्रहरीको योजनाअनुसार ती कर्मचारीले युवतीलाई पाँच लाख दिने सहमति जनाए। हनुमानस्थानमा ती कर्मचारीले आफ्नो नामको प्राइम कमर्सियल बैंकको पाँच लाखको चेक दिन युवतीलाई बोलाए। चेक दिने क्रममा अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गर्‍यो।

पक्राउ परेका को हुन्?

पक्राउ पर्नेमा:

  • कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ

  • भक्तपुर नगरपालिका–१७ सल्लाघारीकी ३४ वर्षीया आँचल श्रेष्ठ (उर्फ आँचल चौगुठी)

उनीहरूले फेसबुकमा ‘टिकटक गर्ल’ नामको फेक प्रोफाइल बनाएर सरकारी कर्मचारीलाई हनी ट्रयापमा पार्ने योजना बनाएका थिए। प्रहरीका अनुसार उनीहरूले अर्धनग्न अवस्थामा फोटो खिचेर ब्ल्याकमेल गर्ने उद्देश्य राखेका थिए।

प्रहरीले आँचलको नामको पाँच लाखको चेक बरामद गर्नुका साथै दुई थान मोबाइल पनि नियन्त्रणमा लिएको छ। उनीहरूद्वारा प्रयोग गरिएको ठगीको शैली हेर्दा यसअघि पनि यस्तै घटनामा संलग्न भएको आशंका प्रहरीको छ। अनुसन्धानका क्रममा ती दुई महिलालाई सहयोग गर्ने दुई पुरुषको पहिचान भइसकेको तर उनीहरू फरार रहेको प्रहरीले जनाएको छ।

आँचल विवाहित थिइन् र अहिले सम्बन्धविच्छेद गरेर बस्दै आएकी छन्। कुनै पेशा नभएकाले यस्तो किसिमको ठगीमा लागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। प्रहरीको आग्रह छ— यदि यस्ता घटनाबाट पीडित कोही छन् भने सम्पर्कमा आउनुहोस्।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु