गृहपृष्ठ वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड नाघ्यो
वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड नाघ्यो
मंसिर ४, २०८२
काठमाडौं। आर्थिक वर्ष ०८२/८३ को पहिलो चौमासिकसम्म नेपालले ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आकर्षित गरेको छ। उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न क्षेत्रमा कुल ३८२ उद्योग दर्ता भएका छन्।
सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रले पाएको छ। आईसीटी क्षेत्रमा २०५ परियोजना स्वीकृत भए पनि लगानी रकम करिब ८७ करोड ४३ लाख रुपैयाँमै सीमित छ।
सबैभन्दा ठूलो लगानी भने कृषि तथा वनआधारित उद्योगतर्फ केन्द्रित भएको छ। सो क्षेत्रमा १३ उद्योगका लागि मात्र २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी एफडीआई स्वीकृत भएको विभागले जनाएको छ।
पर्यटन क्षेत्रले ११८ उद्योगमार्फत ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता पाएको छ। सेवा क्षेत्रमा ३ अर्ब ९ करोड, उत्पादनमूलक क्षेत्रमा १ अर्ब ६५ करोड, ऊर्जामा १८ करोड र खानी क्षेत्रमा ४५ लाख रुपैयाँको लगानी स्वीकृत भएको छ।
विभागका अनुसार कात्तिक महिनामा मात्र ७१ उद्योग दर्ता भई १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

















