गृहपृष्ठ २ लाखभन्दा बढी नयाँ मतदाता दर्ता, दैनिक नाम दर्ता दोब्बर गतिमा
२ लाखभन्दा बढी नयाँ मतदाता दर्ता, दैनिक नाम दर्ता दोब्बर गतिमा
काठमाडौँ — निर्वाचन आयोगले असोज १० गतेदेखि मङ्गलबारसम्मको अवधिमा २ लाख ९ हजार ५५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जनाएको छ।
आयोगका अनुसार मङ्गलबार मात्रै २३ हजार ६३८ जना नयाँ मतदाता दर्ता भएका छन्। तीमध्ये १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्य छन्।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पछिल्ला दिनमा दर्ता स्थलहरूमा सेवाग्राहीको अत्यधिक चाप बढेपछि व्यवस्थापनका लागि विशेष व्यवस्था मिलाइएको हो। उनका अनुसार दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा अब कार्यालयहरू दुई सिफ्टमा सञ्चालन हुनेछन्।
दुई सिफ्टको व्यवस्था अन्तर्गत कार्यालयहरूबाट दैनिक १२ घण्टासम्म सेवा प्रवाह हुनेछ — प्रत्येक सिफ्ट ६–६ घण्टाका दरले सञ्चालन गरिनेछ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा सेवाको सहजताका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको आयोगले जनाएको छ।
त्यस्तै, अन्य जिल्लाहरूमा सेवाग्राहीको चापका आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयसँग पत्राचार गरी थप जनशक्ति खटाउने व्यवस्था गरिएको आयोगको भनाइ छ।









