गृहपृष्ठ सरकारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल

सरकारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल


भदौ १०,२०८
बुटवल टाइम्स

प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जालमार्फत उनले उद्धार र उपचारमा सरकार सक्रियताका साथ लागेको भन्दै सरकारको अभियानमा साथ दिन भनेका हुन्

उनले लेखेका छन्

बाढी प्रभावित क्षेत्रमा चिकित्सक, उद्धारकर्मी तथा आवश्यक स्वास्थ्य सामग्री तत्काल पठाइएको छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायतका निकायसँगको समन्वयमा उद्धार तथा स्वास्थ्य सेवा निरन्तर सञ्चालन भइरहेको छ।
आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटलगायत संघसंस्थासँग निरन्तर समन्वय भइरहेको छ।
बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गरी स्थानीय तहमा आवश्यक सहयोग पहिचान गरेर सोहीअनुसार सहजीकरण भइरहेको छ। घाइते तथा बेपत्ता नागरिकको विवरण संकलन गर्ने काम जारी छ। हराइरहेका नागरिकको खोजी तथा उद्धारलाई अझ तीव्र पारिनेछ भने बाढीबाट भएको क्षतिको विस्तृत विवरण पनि संकलन गरिनेछ। आज रातभर उद्धार कार्य जारी रहनेछ।
नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाका शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। प्रभावित परिवारसम्म खानेकुरा, सफा खानेपानी, औषधी तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइनेछ।
बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी आयोजनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी जनजीवनलाई सामान्य अवस्थामा फर्काइनेछ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ।
बाढी प्रभावित क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरू, तपाईंहरूले भोग्नुपरेको पीडा र क्षति ठूलो छ। तर यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतसहित तपाईंहरूको साथमा छ। तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिनेछ।
यस्तो विपद्को समयमा हामी सबै एकजुट हुन आवश्यक छ। सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।
आउनुहोस्, बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीलाई साथ दिऔँ र उहाँहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सबै मिलेर हातेमालो गरौँ।
धन्यवाद।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु