गृहपृष्ठ नेपालमा ईद उल फित्र: धार्मिक सद्भावको प्रतीकस्वरूप सार्वजनिक बिदा

नेपालमा ईद उल फित्र: धार्मिक सद्भावको प्रतीकस्वरूप सार्वजनिक बिदा


१८ चैत्र २०८१, सोमबार काठमाडौं।

इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको समापनसँगै विश्वभरका मुस्लिम समुदायले आज ईद उल फित्र पर्व उल्लासपूर्वक मनाउँदै छन्। हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा लगाउने र मिठाइ आदान–प्रदान गर्ने परम्पराले विशेषता प्राप्त छ।​

नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएको छ, जसले यसलाई राष्ट्रिय पर्वको रूपमा सम्मान प्रकट गर्दछ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो।​

ईद उल फित्र इस्लाम धर्मावलम्बीहरूको लागि महत्वपूर्ण पर्व हो, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ। रमजान अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सूर्यास्तसम्म रोजा (उपवास) राख्छन्। यो महिना इबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ। यस अवधिमा रोजा खोलेर परिवार र मित्रसँग रमाइलो गर्ने परम्परा छ भने आफ्नो गच्छअनुसार दान–दक्षिणा गरेर पुन्य कमाउने चलन पनि छ।​

ईदको दिन बिहानै नुहाई–धुवाई गरेर सफा र पवित्र भई नजिकको खुला मैदान वा तोकिएको स्थानमा गई विशेष नमाज पढ्ने गरिन्छ। नमाज पढ्नुअघि आर्थिक रूपमा सक्षम व्यक्तिहरूले तोकिएको निश्चित रकम (जकात फित्रा) दानस्वरूप छुट्याउँछन्, जुन आफूसँग निकट रहेका सबैभन्दा बढी गरिबहरू माझ वितरण गरिन्छ।​

नमाजपछि मानिसहरू एक–आपसमा गला मिलाएर ईदको शुभकामना साटासाट गर्छन् र एक–अर्कासँग माफी माग्ने परम्परा छ। शुभकामना दिन आउनेलाई प्रत्येक घरमा मीठा परिकार खुवाएर सत्कार गर्ने चलन छ। भाषा र पोशाक देशअनुसार फरक भए पनि विश्वभरका मुस्लिमहरूको लागि रमजान महिना र ईदमा गरिने अभ्यास झण्डै उस्तै नै हुन्छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु