गृहपृष्ठ नयाँबस्तीको पार्कमा गुञ्जिएका मौलिक तीजका गीत 

नयाँबस्तीको पार्कमा गुञ्जिएका मौलिक तीजका गीत 


 

२०८२ भदौ ३ गते

कल्पना घिमिरे

रुपन्देही — हरितालिका तीजको अवसरमा  सैनामैना वडा न ५ नयाँबस्तीका आमा–दिदीबहिनीले सोमबार सामूहिक दर खाई नजिकैको पार्कमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरे। रंगीचंगी पोशाकमा सजिएका महिलाहरूको ठूलो सहभागिताले कार्यक्रमलाई चाडपर्वभन्दा बढी उत्सवको रुप दिएको थियो।

तीजलाई केवल गीत–नृत्यको रमाइलो पर्व मात्र होइन, महिलाले आफ्नो पीडा, अनुभव र स्वतन्त्रताको कथा पोख्ने अवसरका रूपमा पनि प्रस्तुत गरियो। कार्यक्रमका अधिकांश गीतहरूमा पाको पुस्ताका महिलाले आफ्नै विगत सुनाए—
सानै उमेरमा विवाह गरेर पराइ घर जानुपरेको पीडा, आफ्नै इच्छा बिना गरिएको विवाह, माइती धाउन नपाएको तीतो अनुभव र बुहारीको नाउँमा सहनुपरेका बेदनाहरू।

श्रीमान–ससुराबाट अपहेलित हुनुपरेको, तीजमा पनि माइती पुग्न नपाएको दुःख हामीले गीतमा पोख्यौं,” भगवती घिमिरेले सुनाइन्।त्यस्तै, भागरथी अर्याल, रमा पौडेल, , पुनम भण्डारी,कविता ज्ञवाली कमला सहितको महिला समूहले एकपछि अर्को मौलिक गीत प्रस्तुत गर्दा वसुन्धरा न्यौपानेले बजाएको मादलुको तालमा उपस्थित दिदीबहिनीहरू उत्साहित भएर नाचेका थिए  पार्कैभरि ताल र लय गुन्जियो। गीत–नृत्यको समन्वयमा शर्मिला अर्याल र शेखर अर्याल सक्रिय देखिन्थे।

पीडालाई गीत बनाउने कला

कार्यक्रममा महिलाहरूले आफ्नै जीवनकथा र संस्कृतिलाई जगेर्ना गर्ने किसिमले गीत सिर्जना गरे। कोही गीत निकाल्थे, अरूले दोहोर्याउँथे, बीच–बीचमा सबैले नाचेर ताल मिलाउँथे। यसरी सामूहिक सहभागिताबाट निस्किएको प्रस्तुति यति आकर्षक देखिन्थ्यो कि हेर्ने जो–कोही मन्त्रमुग्ध हुन्थे।

गीतका पंक्तिहरूमा विगतको पीडा मात्र नभई सशक्तिकरणको स्वर पनि मिसिएको पाइन्थ्यो।
”सानो सानो अमिलीको दाना पल्टिदा पल्टिँदै खोली बरीलै

बाबा रुँदै  बैठके कोठामा म रुँदै रुँदै डोली बरीलै

जस्ता लयात्मक शब्दहरूले विगतका दुःखद अनुभवलाई कलात्मक रूप दिएका थिए।

सामूहिक उत्सव र एकता

तीजको अवसरमा महिलाले आफ्नो पीडा बिर्सँदै सामूहिक नृत्य र गीतमा रमाएका थिए। कार्यक्रमको बीच–बीचमा सबै उठेर नाच्दा पीडा र कठिनाइका कुरा पनि क्षणभरलाई हराएको झैँ देखिन्थ्यो।

“हामीलाई विगतमा शिक्षा लिन पाइएन, अधिकारका कुरा गर्न पाइएन। तर आज हामी आफ्ना पीडा गीतमार्फत पोख्न पाउँछौं। यही हो हाम्रो वास्तविक शक्ति,” प्रभाती सुवेदीले भनिन्।

गाउँमा हुने हरेक सामाजिक–सांस्कृतिक कार्यक्रममा यो महिला समूह एकजुट हुने गरेको छ। उनीहरूको गीत–संगीतले केवल रमाइलो मात्र होइन, विगतका अनुभवलाई भावी पुस्तामा पुर्‍याउने जिम्मेवारी पनि बोकेको छ।

संस्कृतिको जगेर्ना

कार्यक्रम हेर्न आएका स्थानीयले महिला समूहको प्रस्तुति केवल मनोरञ्जन नभई संस्कृतिको जगेर्ना गर्ने माध्यम भएको बताए।
“यस्ता मौलिक गीत र अनुभवहरू दस्तावेजीकरण गर्न सकियो भने पुस्तौँसम्म हाम्रो संस्कृतिको पहिचान जीवित रहन्छ,” स्थानीय समाजसेवी नरिश्वर न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु