गृहपृष्ठ उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री
उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री
Oplus_16908288
साउन २९ , २०८३
बुटवल टाइम्स
काठमाडौ – प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीका आधारमा नेपाल प्रहरीका उच्च अधिकारीमाथि प्रश्न उठाइएको भन्दै गृहमन्त्री सुधन गुरुङले आपत्ति जनाएका छन्।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा आफू अनुपस्थित रहेका बेला गृह मन्त्रालयका सचिव, सहसचिव तथा प्रहरी प्रमुखमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाए।
रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी पोसाकलगायत सामग्री खरिदमा परेको उजुरीलाई नैतिकताको विषय बनाउँदै प्रहरी नेतृत्वमाथि प्रश्न उठाएका थिए। त्यसको जवाफ दिँदै गुरुङले उजुरीकै आधारमा कसैलाई दोषी करार गर्न नमिल्ने बताए।
‘उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप जोसुकैले पनि लगाउन सक्छ। त्यसको आधारमा कसैको चरित्रहत्या गर्न पाइँदैन,’ उनले भने।
गुरुङले उजुरीमाथि छानबिन भई आरोप पुष्टि नभएसम्म कसैलाई दोषी ठहर गर्नु उचित नहुने बताए। सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयका अधिकारी तथा प्रहरी प्रमुखप्रति प्रस्तुत व्यवहारप्रति मन्त्रालय असन्तुष्ट रहेको उनको भनाइ थियो।
‘दिस इज नट राइट, दिस इज नट गुड। वि आर नट ह्याप्पी अबाउट इट,’ उनले भने।
गृहमन्त्री गुरुङले गृह प्रशासनअन्तर्गतका कर्मचारी र प्रहरी नेतृत्वले सरकारको भावनाअनुसार काम गरिरहेको दाबी गर्दै आफू उनीहरूको कामको प्रत्यक्ष साक्षी रहेको बताए। दोष प्रमाणित भए कानुनी प्रक्रिया अघि बढ्न सक्ने भए पनि प्रमाणित नहुँदै आरोपका आधारमा अधिकारीको चरित्रमाथि प्रश्न उठाउनु उचित नभएको उनको भनाइ छ।













