गृहपृष्ठ ४० वर्षदेखिकाे बक्यौता असुलीमा सरकारकाे कडाइ
४० वर्षदेखिकाे बक्यौता असुलीमा सरकारकाे कडाइ
साउन २८,२०८३
बुटवल टाइम्स
काठमाडौ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको उद्योगहरूको बक्यौता असुलीले गति लिएको छ। उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योग तथा संस्थाबाट उठ्न बाँकी भाडा र अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुल भएको हो।
मन्त्री यादवले राज्यलाई तिर्नुपर्ने रकम लामो समयदेखि नतिरी बसेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र पारिएको मन्त्रालयले जनाएको छ। करिब ४० वर्षदेखि उठ्न नसकेको उद्योगहरूको भाडा बक्यौतासमेत अहिले असुल हुन थालेको छ।
यसैक्रममा कन्टिनेन्टलबाट मात्रै ४ करोड ११ लाख ९३ हजार ६ सय ८९ रुपैयाँ ७५ पैसा बक्यौता असुल भएको छ। योसँगै हालसम्म उद्योगहरूको बक्यौताबापत कुल ५१ करोड २६ लाख ३० हजार ७ सय ९९ रुपैयाँ २७ पैसा असुल भइसकेको छ।
बक्यौता असुलीसँगै लामो समयदेखि रोकिएको उद्योग सञ्चालनलाई सहज बनाउने कामसमेत अघि बढाइएको छ। यसक्रममा थप एक उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको छ।
यद्यपि, विद्युत् बक्यौता नतिरेका कारण हालसम्म ८१६ वटा उद्योगको विद्युत् लाइन काटिएकै अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्री यादवको निर्देशनपछि वर्षौँदेखि अलपत्र रहेको राज्यको बक्यौता उठाउने अभियानले गति लिएसँगै सरकारी राजस्व असुलीमा समेत सकारात्मक प्रभाव परेको छ। मन्त्रालयले बाँकी रहेका उद्योग तथा संस्थाबाट पनि बक्यौता असुलीलाई निरन्तरता दिने जनाएको छ।












