गृहपृष्ठ “कानुन निर्माणमा जनताको सिधा पहुँच अपरिहार्य”: सभामुख
“कानुन निर्माणमा जनताको सिधा पहुँच अपरिहार्य”: सभामुख
२१ बैशाख २०८२, आईतवार
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन बनाउने निकायमा जनताको सिधा पहुँच बढाउन जरुरी रहेको बताउनु भएको छ । जनताको प्रतिनिधित्वमा बन्ने कानुन नै जनताको कानुन हुने बताउनु हुँदै उहाँले जनताको पक्षमा कानुन बनोस भन्ने सतर्कता अनुरुप नै ब्यवस्थापिकलाई कानुन बनाउने अधिकार दिईएको र सोही अनुसार बिश्वमा अभ्यास भईरहेको उहाँले बताउनु भयो ।
लुम्बिनी प्रदेश सभा सचिवालयले आज बुटवलमा आयोजना गरेको शैक्षिक संस्थाहरुमा अध्ययरत बिद्यार्थीहरुको लागी अभ्यास संसद कार्यक्रमको उदघाटन गर्नुहुँदै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले संसद जनताको सार्बभौमसत्ता प्रयोग गर्न थलो भएको बताउनु भयो । लुम्बिनी प्रदेश सभाले जनताको सार्बभौमिकता प्रयोग गरि प्रदेशलाई आवश्यकत पर्ने कानुन निर्माण गर्ने गरिएको बताउनु भयो । प्रदेश सभाले कानुन बनाउने, सरकार बनाउने, नीति कार्यक्रम बनाउने र संसदीय निगरानी गर्ने रहेको बताउनु हुँदै उहाँले प्रदेश सभामा पहुँच वृद्धि गर्न विद्यार्थीसंग कार्यक्रम गरिएको बताउनु भयो ।
लुम्बिनी प्रदेशका उप-सभामुख मेनुका खाड केसीले मुलुकको जिम्मेवारी युवाको काधमा आएको बताउनु हुँदै युबा पुस्ताले स्वदेश मै सम्भावना देख्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नू भयो-” पढेलेखेका सक्षम युवा बिदेश जाने ? यहाँ कस्ले गर्छ नेतृत्व ?” युवाहरु राजनीतिमा आउन जरुरी रहेकोे उहाँको भनाई छ ।
लुम्बिनी बौद्ध बिश्वबिद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले अभ्यास संसद कार्यक्रमको लागि सि टि क्याम्पसलाई छनोट गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले यो कार्यक्रमले बिद्यार्थीलाई ब्यवहारिक ज्ञान दिलाउने बिश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुहुदै लुम्बिनी प्रदेश सभा सचिवालयका सचिब दुर्लभ कुमार पुनले कानुन कसरी बनाईन्छ भन्नेकुरा ब्यवहारिक रुपमा अभ्यास गराईने र यसले बिद्यार्थीलाई कानुन निर्माणको ब्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने बताउनु भयो ।
दुई दिन सम्म बुटवलमा संचालन हुने उक्त कार्यक्रममा लुम्बिनी बौद्ध बिश्वबिद्यालय स्कुल अफ ल सिटि क्याम्पस बुटवलका कानुनका १ सय बढी बिद्यार्थीहरु सहभागी हुनुहुन्छ । कानुन निर्माण प्रक्रियाको विषयमा ब्यवहारिक ज्ञान दिने उदेश्यले प्रदेश सभा सचिवालयले यो कार्यक्रम संचालन गरेको हो ।








