गृहपृष्ठ प्रधानमन्त्री बालेन दिल्लीमा, विमानस्थलमा भव्य स्वागतदेखि जयशंकरसँग भेटवार्तासम्म
प्रधानमन्त्री बालेन दिल्लीमा, विमानस्थलमा भव्य स्वागतदेखि जयशंकरसँग भेटवार्तासम्म
मसिर ६,२०८३
बुटवल टाइम्स
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
प्रधानमन्त्री शाह दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गरेका थिए। उनी भारतीय समयअनुसार दिउँसो ३ बजेर १८ मिनेटमा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलमा विशेष तयारीसमेत गरिएको थियो।
विमानस्थलमा स्वागत ग्रहणपछि प्रधानमन्त्री शाह सिधै नयाँ दिल्लीस्थित होटल ताज महल पुगेका छन्। होटलमा उनको स्वागत गरिएको थियो।
भ्रमणको पहिलो दिन आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्। जयशंकर प्रधानमन्त्री बसेको होटलमै पुगेर भेट गरेका हुन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणको दोस्रो दिन सोमबार उनले भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
















