गृहपृष्ठ पदबहाली लगत्तै लुम्बिनीका समस्या पहिचानमा जुटे सदस्य सचिव पाण्डे

पदबहाली लगत्तै लुम्बिनीका समस्या पहिचानमा जुटे सदस्य सचिव पाण्डे


 

मंसिर २ ,२०८३

बुटवल टाइम्स

कल्पना घिमिरे

लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव इन्जिनियर सन्तोष पाण्डे पदबहालीलगत्तै लुम्बिनी क्षेत्रका समस्या पहिचान र समाधानको योजना बनाउन स्थलगत अवलोकनमा जुटेका छन्।

पदबहालीपछि उनले लुम्बिनीका विभिन्न स्थानको स्थलगत अवलोकन गरी त्यहाँ सञ्चालन भइरहेका विकास निर्माणका काम, देखिएका समस्या र सुधार गर्नुपर्ने विषयबारे जानकारी लिएका हुन्।

अवलोकनका क्रममा कोषका प्रशासन प्रमुख ज्ञानिन राईसहित कर्मचारी, स्थानीय बासिन्दा तथा सरकारी अधिकारीले पाण्डेलाई स्वागत गर्दै लुम्बिनी क्षेत्रका विद्यमान समस्या, निर्माणाधीन योजनाको अवस्था र सुधार गर्नुपर्ने पक्षबारे जानकारी गराएका थिए।

स्थलगत अवलोकनका क्रममा अखण्ड दीप परिसरअगाडि अव्यवस्थित रूपमा रहेका रिक्सा व्यवस्थापन, पार्किङ तथा ट्याक्सी व्यवस्थापनको समस्या उठाइएको थियो। त्यसैगरी, पर्यटकका लागि पर्याप्त खानेपानी र शौचालयको सुविधा उपलब्ध गराउनुपर्ने तथा विशेषगरी मायादेवी मन्दिर प्रवेश क्षेत्रमा सार्वजनिक शौचालयको उचित व्यवस्थापन गर्नुपर्ने विषयमा  जानकारी गराइएको थियो।

त्यस्तै, स्थानीय बासिन्दाले मुण्डन कार्य गर्दा भोग्नुपरेका असहजता, खानेपानी व्यवस्थापनलगायतका समस्याबारे पनि सदस्य सचिव पाण्डेलाई अवगत गराएका थिए। लुम्बिनी क्षेत्रमा सञ्चालन भइरहेका विकास निर्माणका कामको प्रगति, पूर्वाधारको अवस्था र थप सुधार गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।

स्थानीय परिवेश र पूर्वाधार विकासका विषयमा जानकार व्यक्ति सदस्य सचिवका रूपमा आएसँगै कोषका कर्मचारीमा पनि अपेक्षा बढेको छ। सहरी तथा पूर्वाधार विकासको क्षेत्रमा अनुभव हासिल गरेका पाण्डेको नेतृत्वमा लुम्बिनी क्षेत्रका लामो समयदेखि देखिँदै आएका समस्या समाधान हुने र विकास निर्माणका कामले गति लिने कर्मचारीहरूले अपेक्षा गरेका छन्।

स्थलगत अवलोकनपछि सदस्य सचिव पाण्डेले लुम्बिनी क्षेत्रमा देखिएका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आगामी पाँच वर्षभित्र लुम्बिनीको मुहार फेर्ने गरी योजनाबद्ध रूपमा काम गर्ने बताए।

पाण्डेका अनुसार लुम्बिनी विकास कोषको गुरुयोजनालाई आधार बनाएर विकास निर्माणका काम अघि बढाइनेछ। त्यसका लागि बजेटको अभाव हुन नदिने र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गरिने उनको भनाइ छ। कोषमा भ्रष्टाचार, अनियमितता तथा स्रोतसाधनको दुरुपयोग हुन नदिई आर्थिक र प्रशासनिक पारदर्शिता कायम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

लुम्बिनीलाई वास्तविक शान्तिको अनुभूति गराउने अन्तर्राष्ट्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरसफाइ, फोहोर व्यवस्थापन, खानेपानी, सार्वजनिक शौचालय र पर्यटकीय पूर्वाधारलाई प्राथमिकता दिइने उनले बताए।

लुम्बिनीको विकास स्थानीय समुदायको आर्थिक उन्नतिसँग पनि जोडिनुपर्नेमा जोड दिँदै पाण्डेले स्थानीय जनशक्तिको परिचालन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु