गृहपृष्ठ तीन महिनामै १७ अर्ब १५ करोडका ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान

तीन महिनामै १७ अर्ब १५ करोडका ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान


कार्तिक १९,२०८३

बुटवल टाइम्स

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै देशका विभिन्न जिल्लामा ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ। मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत साना तथा ठूला खानेपानी आयोजनाको खरिद प्रक्रिया अघि बढाइएको हो।
कुल १७ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएका यी आयोजनामार्फत १३ लाख ७२ हजार नागरिकलाई आगामी ३० महिनाभित्र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
विगत आर्थिक वर्षमा स्रोत सहमति प्राप्त हुन नसक्दा खानेपानी आयोजनाका ठेक्का प्रक्रिया अघि बढ्न सकेका थिएनन्। जसका कारण नयाँ आयोजनाको कार्यान्वयन प्रभावित भएको थियो। तर चालु आर्थिक वर्षको सुरुवातसँगै मन्त्रालयले खानेपानी क्षेत्रका आयोजनालाई प्राथमिकतामा राखेर ठेक्का प्रक्रिया अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार यस वर्ष ४४ अर्ब रुपैयाँसम्मका खानेपानी आयोजनालाई खरिद प्रक्रियामा लैजाने तयारी गरिएको छ। यसबाट विभिन्न जिल्लामा खानेपानी सेवाको पहुँच विस्तार हुनुका साथै स्वच्छ तथा सुरक्षित खानेपानीको सुविधा थप नागरिकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु