गृहपृष्ठ रुपन्देहीका योग्य व्यक्तिलाई उम्मेदवारी दिन रास्वपा जिल्ला सभापति उपाध्यायकाे आह्वान

रुपन्देहीका योग्य व्यक्तिलाई उम्मेदवारी दिन रास्वपा जिल्ला सभापति उपाध्यायकाे आह्वान


कार्तिक १९, २०८३
बुटवल टाइम्स

बुटवल । आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका जिल्ला सभापति महेन्द्रप्रसाद उपाध्यायले जिल्लाभित्र रहेका योग्य, सक्षम, इमानदार तथा इच्छुक व्यक्तिहरूलाई उम्मेदवारी प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको छ।
उहाँले उम्मेदवारी दिने अवसर कुनै सीमित व्यक्ति वा समूहका लागि मात्र नभई क्षमता, योग्यता, अनुभव, दक्षता र सम्भावना भएका सबैका लागि खुला हुनुपर्ने बताउनुभएको छ। उहाँले आगामी निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले कसैको दबाब, प्रभाव वा आग्रहमा नपरी आफ्नै योग्यता, क्षमता र आत्मविश्वासका आधारमा प्रतिस्पर्धामा उत्रिनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले उम्मेदवारी प्रक्रियालाई खुला, निष्पक्ष, पारदर्शी र स्वतन्त्र बनाउन सबै योग्य व्यक्तिको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभएको छ। प्रतिस्पर्धाबाट पछि हट्नुभन्दा पनि आफ्नो क्षमता प्रस्तुत गर्दै स्वस्थ प्रतिस्पर्धामा सहभागी हुनुपर्ने उहाँको भनाइ छ। सक्षम र योग्य व्यक्तिहरूबीच हुने प्रतिस्पर्धाले नेतृत्व छनोट प्रक्रियालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभएको छ।
उपाध्यायले स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका लागि नेतृत्व छनोट गर्दा व्यक्तिगत सम्बन्ध, पहुँच, नातागोता वा प्रभावलाई आधार बनाउनुभन्दा व्यक्तिको क्षमता, इमानदारी, राजनीतिक प्रतिबद्धता, कार्यदक्षता र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। योग्य व्यक्तिहरूले अवसर पाउने वातावरण निर्माण भएमा पार्टीको संगठनात्मक क्षमता र जनविश्वाससमेत थप थप सुदृढ हुने उहाँको धारणा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु