गृहपृष्ठ नेपाल–भारत पर्यटन सम्बन्ध विस्तारमा मन्त्री पौडेलको पहल, हवाई सहकार्यलाई प्राथमिकता

नेपाल–भारत पर्यटन सम्बन्ध विस्तारमा मन्त्री पौडेलको पहल, हवाई सहकार्यलाई प्राथमिकता


मंसिर ३, २०८३
बुटवल टाइम्स

नयाँदिल्ली । भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा सहभागी हुँदै मन्त्री पौडेलले नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् ।
नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले नेपालका धार्मिक तथा आध्यात्मिक स्थल, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य पर्यटन भारतीय पर्यटकका लागि महत्वपूर्ण आकर्षण बन्न सक्ने उल्लेख गरे । उनले पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने धारणा राखे ।
यसैक्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारत हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा दुई देशबीचको हवाई सम्पर्कलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत, उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराज, सरकारी अधिकारी, कूटनीतिक प्रतिनिधि तथा दुवै देशका पर्यटन व्यवसायीहरूको सहभागिता थियो ।
कार्यक्रममार्फत नेपालले भारतीय पर्यटकलाई भ्रमणका लागि आमन्त्रण गर्दै पर्यटनका विविध सम्भावना र पर्यटक स्वागतका लागि नेपालको तयारीबारे सन्देश दिएको छ । नेपाल–भारतबीच पर्यटन साझेदारी विस्तार र आर्थिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु