गृहपृष्ठ बाढीपीडितलाई थप पीडा दिनेलाई सरकार निर्मम हुन्छ : प्रधानमन्त्री शाह

बाढीपीडितलाई थप पीडा दिनेलाई सरकार निर्मम हुन्छ : प्रधानमन्त्री शाह

Oplus_16908288

भदौ २०,२०८३
बुटवल टाइम्स

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको बताएका छन्। पीडितको दुःख र आक्रोशलाई बुझ्नुपर्ने भन्दै उनले पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने तथा थप पीडा दिने प्रयास गर्नेहरूप्रति सरकार निर्मम हुने र कारबाही गर्ने चेतावनी दिएका छन्।
शनिबार राति फेसबुकमार्फत लामो वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले एकै क्षणमा आफ्नो संसार गुमाएका नागरिकको आक्रोश केवल आक्रोश नभई पीडा व्यक्त गर्ने माध्यमसमेत भएको उल्लेख गरेका छन्। त्यसैले पीडितहरूको आवाजलाई सरकारले संयमतापूर्वक सुन्नुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरेको घटनालाई आशाको सन्देशका रूपमा उल्लेख गरेका छन्। खोज तथा उद्धार कार्य अझै निरन्तर रहेको भन्दै उनले ज्येष्ठ नागरिकसहित प्रभावित नागरिकको उद्धारमा सुरक्षाकर्मीहरू जोखिम मोलेर खटिरहेको बताएका छन्।
बाढीका कारण ज्येष्ठ नागरिकले ठूलो पीडा भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कतिपय वृद्धवृद्धाले काँपिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भाग्दै ज्यान जोगाएको बताएका छन्। कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी तथा नातिनातिना गुमाउनुपरेको र जीवनसाथीसमेत गुमाएको उनले बताएका छन्।
बाढी प्रभावित ज्येष्ठ नागरिकका लागि सरकारले अस्थायी शिविर तथा होल्डिङ सेन्टरमार्फत राहत, स्वास्थ्य सेवा र आवश्यक सुविधा उपलब्ध गराइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्। नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उनले बताएका छन्।
उनीहरूका लागि ह्वीलचियर र वाकर उपलब्ध गराउनुका साथै नियमित स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा पनि सञ्चालन भइरहेको उनले बताएका छन्। प्रभावित ज्येष्ठ नागरिकको अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर छिट्टै सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले जनाएका छन्।
प्रधानमन्त्री शाहले ज्येष्ठ नागरिकलाई देशको जग र मार्गदर्शकको संज्ञा दिँदै उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनलाई राज्यले सम्मान गर्ने बताएका छन्। साथै, बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मीको प्रशंसा गर्दै प्रधानमन्त्री शाहले विपद्पछिको कठिन अवस्थामा उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु