गृहपृष्ठ ‘कुर्सीमा बसेर शासन गर्ने पुरानो शैली अब चल्दैन’ : गृहमन्त्री गुरुङ
‘कुर्सीमा बसेर शासन गर्ने पुरानो शैली अब चल्दैन’ : गृहमन्त्री गुरुङ
भदौ १९, २०८३
बुटवल टाइम्स
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुरानो प्रशासनिक परिपाटी र परम्परागत कार्यशैलीबाट बाहिर निस्कँदै आधुनिक प्रविधिको प्रयोगमार्फत शासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
आफ्नो कार्यशैलीलाई लिएर भइरहेको आलोचनाप्रति लक्षित गर्दै गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत ‘जेनेरेसन ग्याप’ अर्थात् पुस्तान्तरणको विषय उठाएका हुन्। मन्त्रालयको टेबुल र कुर्सीमा भौतिक रूपमा उपस्थित नभएको भन्दै भइरहेको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै उनले प्रविधिको युगमा डिजिटल माध्यमबाटै कामलाई अझ छिटो र प्रभावकारी बनाउन सकिने बताएका छन्।
विपद् व्यवस्थापनका लागि आवश्यक संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको दाबी गर्दै उनले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर सञ्चालन भइरहेको बताए।
‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ, चिन्ता लिनुपर्दैन। हामी अनलाइनमार्फत नै हरेक चार घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ,’ उनले भनेका छन्।
गुरुङले वर्षौँदेखि फिल्डको वास्तविक अवस्था नबुझी कुर्सीबाट मात्रै शासन गर्ने प्रवृत्तिका कारण देशले अपेक्षित परिणाम हासिल गर्न नसकेको टिप्पणी गरेका छन्।
‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई उस्तै शैली अपनाउन दबाब दिएको देख्दा अचम्म लाग्छ,’ उनले भनेका छन्।
उनले नेतृत्वको मूल्यांकन भौतिक रूपमा कहाँ बसेर काम गरियो भन्ने आधारमा नभई त्यसबाट प्राप्त परिणामका आधारमा हुनुपर्नेमा जोड दिएका छन्। डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाह र निर्णय प्रक्रियालाई छिटो तथा प्रभावकारी बनाउन सहयोग पुग्ने भन्दै गुरुङले अबको नेतृत्व आधुनिक प्रणाली र प्रविधिमैत्री कार्यशैलीअनुसार अघि बढ्नुपर्ने बताएका छन्।
















