गृहपृष्ठ भोटेकोशी बाढीबाट रसुवामा ४० किमि सडक र ४१ पुल क्षतिग्रस्त : पूर्वाधार विकास मन्त्रालय

भोटेकोशी बाढीबाट रसुवामा ४० किमि सडक र ४१ पुल क्षतिग्रस्त : पूर्वाधार विकास मन्त्रालय


भदौ ११,२०८३
बुटवल टाइम्स

काठमाडौं, भदौ ११ — भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ। पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर राजमार्ग सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

बाढीबाट ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारले उपलब्ध गराएका ५० मिटरसम्म लम्बाइका सातवटा बेलिब्रिजमध्ये आवश्यकता र सम्भावनाका आधारमा जडानको तयारी अघि बढाइएको छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ।

पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम भइरहेको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरिएको छ। वेत्रावतीसम्म सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ।

सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारका १० र निजी क्षेत्रका १० गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र पारिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु