गृहपृष्ठ पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, दुई जना महिला पत्रकार सम्मानित

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, दुई जना महिला पत्रकार सम्मानित

oplus_2

बुटवल टाइम्स

साउन २५,२०८३

बुटवल, २५ साउन । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारण सभा सोमबार बुटवलमा सम्पन्न भएको छ। साधारणसभामा पत्रकारिताको पेशागत मर्यादा, महासंघको संस्थागत विकास, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल गरिएको छ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका निवर्तमान अध्यक्ष रामराज पोख्रेलले अग्रज पत्रकारहरूको योगदानका कारण अहिले पत्रकारहरूले खुलेर बहस गर्न सक्ने वातावरण बनेको बताए। पत्रकारिता क्षेत्रमा कमीकमजोरी हुन सक्ने भन्दै उनले त्यसलाई सच्याउँदै पेशागत मर्यादा कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
‘भ्युज’ का नाममा पत्रकारिताको आधारभूत मर्यादा र सीमाभन्दा बाहिर जान नहुने बताउँदै पोख्रेलले त्यस्तो पत्रकारिता दिगो हुन नसक्ने धारणा राखे। महासंघ साझा तथा स्वयंसेवी संस्था भएकाले यसको संस्थागत विकास र पारदर्शिता कायम गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो।
महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आफ्नो कार्यकालमा अग्रज पत्रकारको सम्मान तथा क्रियाशील पत्रकारलाई जिम्मेवारी दिने गरी काम अघि बढाइएको बताए। उनले विभिन्न फेलोसिप तथा तालिम सञ्चालन गरिएको जानकारी दिँदै महासंघको कल्याणकारी कोषमा ३० लाख रुपैयाँ रहेको र त्यसलाई थप वृद्धि गर्दै लैजाने बताए।
पाण्डेका अनुसार महासंघले लुम्बिनी प्रदेश सरकारसँग डिजिटल लाइब्रेरी तथा सञ्चार संग्रहालय निर्माणका लागि प्रस्ताव गरेको छ। आगामी दिनमा ‘मिडिया मन्थन’ तथा राष्ट्रिय सञ्चार सम्मेलनजस्ता कार्यक्रमलाई पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रममा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईंले वर्तमान सरकारले पत्रकारिता क्षेत्रका आवाजलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताए। पत्रकार महासंघ र सञ्चारमाध्यमका विषयमा सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने उनको भनाइ थियो।
साधारणसभामा महासंघका पूर्वअध्यक्ष डीआर घिमिरे, शेरबहादुर केसी, सल्लाहकार विनोद परियार, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य र मीना ढकाल, प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, पत्रकार पूजा पन्थी, माया केसीलगायतले धारणा राखेका थिए।
महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव सीपी खनालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नरेश केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
पन्थी र केसीलाई महिला सशक्तिकरण पत्रकारिता पुरस्कार
साधारणसभाको अवसरमा ‘खेमी ओमी पुन महिला सशक्तिकरण पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार पूजा पन्थी र २०८२ बाट पत्रकार माया केसी सम्मानित तथा पुरस्कृत भएका छन्।
नेपाल पत्रकार महासंघ रुपन्देही र खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कारबाट दुवै पत्रकारलाई जनही २१ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु