गृहपृष्ठ ‘चार महिनामै ३६ वर्षको बेथिति हट्दैन, पाँच वर्ष साथ दिनुस्’ : महामन्त्री आचार्य
‘चार महिनामै ३६ वर्षको बेथिति हट्दैन, पाँच वर्ष साथ दिनुस्’ : महामन्त्री आचार्य
oplus_34
साउन २३,२०८३
कल्पना घिमिरे
भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने बताएका छन्।
रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस्थापना, बृहत् पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै आचार्यले देश निर्माणका लागि समय लाग्ने भएकाले नागरिकको साथ आवश्यक रहेको बताए।
उनले पार्टी वा सरकारले गलत काम गरे प्रश्न गर्न नागरिकलाई आग्रह गर्दै प्रश्न र खबरदारीले आफूहरूलाई अझ जिम्मेवार र बलियो बनाउने बताए। “हामीले गलत गर्दा प्रश्न गर्न नहिचकिचाउनुहोस्, तपाईंको प्रश्नले हामीलाई बलियो बनाउँछ,” उनले भने।
आचार्यले चार महिनामै ३६ वर्षदेखिको बेथिति सुधार्न नसकिने भन्दै तत्काल निराश नहुन आग्रह गरे। देशलाई दिगो रूपमा बलियो बनाउन कम्तीमा पाँच वर्ष साथ दिन उनले नागरिकसँग आग्रह गरे।
“चाँडो नतिजा दिने हिसाबले जाँदा २–४ दिन नतिजा दिइएला, तर त्यो दिगो हुँदैन। दिगो नतिजाका लागि देश बलियो बनाउनुपर्छ,” उनले भने।
आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा समेत रास्वपालाई साथ दिन आग्रह गर्दै आचार्यले सरकारले सही दिशामा काम गरिरहेको दाबी गरे। पछिल्ला चार महिनामा विगतको तुलनामा काण्डका समाचार नआएको उनको दाबी थियो।
कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले देशमा रहेको बेथिति रोक्न सके मात्र वास्तविक परिवर्तन सम्भव हुने बताए। उनले आफूहरूले सरकारको विरोध नभई जनताका समस्या र गुनासाबारे सरकारलाई झकझकाइरहेको बताए।
त्यस्तै, पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग जनताको ठूलो अपेक्षा रहेको बताइन्।कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य कल्पना पाण्डे, लुम्बिनी प्रदेश सभापति शालिकराम घिमिरे, प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापा, तौफिक अहमद खाँ, मन्जु भुसाल, पुनम अग्रवाल, सुशान्त वैदिक, पूर्व प्रदेश कमिटी सल्लाहकार विनोद खरेल, रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, निवर्तमान जिल्ला अध्यक्ष डा.बुद्धि प्रसाद शर्मा, सचिव ज्ञानेन्द्र पाण्डे बुटवल उपमहानगरपालिका सभापति राजेश्वर पाण्डे लगायतले बोल्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीले भैरहवामा आयोजना गरेको पदस्थापना, बृहत् पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा विभिन्न पालिकाबाट करिब २ हजार ५ सयभन्दा बढीले पार्टी प्रवेश गरेको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन भने आधुनिक समाज डेन्टलकाे प्राविधिक सहयोगमा ५२ जनाकाे दन्त परिक्षण गरिएको छ ।













