गृहपृष्ठ नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी दोषी, छोरा सन्दीपले पाए सफाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी दोषी, छोरा सन्दीपले पाए सफाइ


 

असार २३, २०८३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी राज्यविरुद्धको कसूर, ठगी तथा संगठित अपराधमा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले सोमबार सुनाएको फैसलामा उनका छोरा सन्दीप रायमाझीसहित सात जनालाई भने सफाइ दिएको छ।

यसै प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले पनि अदालतबाट सफाइ पाएका छन्।

अदालतको फैसलाअनुसार सन्दीप रायमाझीको बैंक खातामा सानु भण्डारीले ४० लाख रुपैयाँ जम्मा गरेको देखिए पनि उक्त रकम बाबु टोपबहादुर रायमाझीलाई दिइएको दुई करोड रुपैयाँकै अंश भएको उल्लेख गरिएको छ।

फैसलामा सन्दीप रायमाझी र सानु भण्डारीबीच २०७४ सालदेखि लीयोन ट्रेडर्स लिमिटेडमा शेयर सदस्यका रूपमा व्यावसायिक सम्बन्ध रहेको प्रमाण पेश भएको उल्लेख छ। साथै, भण्डारीले अनुसन्धानका क्रममा दिएको बयानमा पनि टोपबहादुर रायमाझीलाई दिएको रकममध्ये ४० लाख रुपैयाँ सन्दीप रायमाझीको खातामा जम्मा गरिदिएको बताएका थिए।

अदालतले बाबुलाई दिइएको रकम छोराको खातामा जम्मा भएको मात्र आधारमा सन्दीप रायमाझीलाई आरोपित कसुरमा संलग्न रहेको पुष्टि नहुने निष्कर्ष निकाल्दै उनीविरुद्धको अभियोग प्रमाणित नभएको ठहर गरेको हो।

यता, टोपबहादुर रायमाझी भने राज्यविरुद्धको कसूर, ठगी तथा संगठित अपराधमा दोषी ठहर भएका छन्। अदालतले अन्य दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण भने आगामी आदेशमार्फत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु