गृहपृष्ठ बुटवल–११ मा तीनदिने तनाव व्यवस्थापन तालिम सम्पन्न, महिलामा बढ्यो आत्मविश्वास
बुटवल–११ मा तीनदिने तनाव व्यवस्थापन तालिम सम्पन्न, महिलामा बढ्यो आत्मविश्वास
oplus_8388610
असार ३, २०८३
बुटवल — बुटवल उपमहानगरपालिका वडा नं. ११ को आयोजनामा महिलाहरूका लागि सञ्चालन गरिएको तीनदिने (जेठ २९ – असार १)‘तनाव व्यवस्थापन तथा सकारात्मक सोच’ सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्य प्रवर्द्धन, सकारात्मक सोचको विकास तथा दैनिक जीवनमा आइपर्ने तनाव व्यवस्थापनका व्यावहारिक उपायबारे जानकारी गराउने उद्देश्यले आयोजित तालिममा करिब १३० जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
आमासमूह, स्वास्थ्य आमा समूह तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय महिलाहरू सहभागी रहेको उक्त तालिमले महिलाहरूमा आत्मविश्वास, आत्मचेतना र सकारात्मक सोच अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
तालिमको पहिलो दिन ब्रह्माकुमारी ईश्वरीय विद्यालयका प्रशिक्षकहरू कृती, मोनिका, विमला र ओम शान्तिले ‘मनलाई शान्त राख्ने कला’, ‘आफ्नो वास्तविक पहिचान’ तथा ‘आन्तरिक शान्तिको शक्ति’ विषयमा प्रशिक्षण दिएका थिए। उनीहरूले सकारात्मक सोच र आत्मचेतनाले मानसिक सन्तुलन कायम राख्न सहयोग पुग्ने बताएका थिए।
दोस्रो दिन हास्यकलाकार विष्णु भट्टराईले हाँसो, मनोरञ्जन र सकारात्मक भावनाले तनाव कम गर्न महत्वपूर्ण योगदान पुर्याउने विषयमा प्रशिक्षण दिएका थिए। त्यसैगरी वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सकारात्मक सोचबारे प्रशिक्षण दिँदै “व्यक्ति सकारात्मक भए समाज पनि सकारात्मक बन्छ” भन्ने सन्देश दिएका थिए।
समापन कार्यक्रममा अध्यक्षता गर्दै कार्यपालिका सदस्य हेमा राना थामीले महिलाहरूले घरपरिवार, बालबालिका, कार्यालय तथा सामाजिक जिम्मेवारी वहन गर्ने क्रममा विभिन्न मानसिक दबाब झेल्नुपर्ने भएकाले यस्ता कार्यक्रम समयको आवश्यकता भएको बताइन्। उनले छोटो अवधिको भए पनि तालिम सहभागीका लागि अत्यन्त उपयोगी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
तालिमको अन्तिम दिन जीवन विज्ञानका प्रशिक्षक केशव प्रसाद खनालले ‘ऊर्जा ध्यान’ मार्फत सहभागीहरूलाई विभिन्न अभ्यास गराउँदै सकारात्मक ऊर्जा, आनन्द र उत्साहको अनुभूति गराएका थिए।
कार्यक्रमको समापनसँगै सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट नयाँ ऊर्जा, आत्मविश्वास र मानसिक सन्तुलन कायम राख्ने सीप प्राप्त भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने वडा सचिव, वडा सदस्य, आमासमूह तथा सम्पूर्ण सहभागी महिलाहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ। यस्ता कार्यक्रमले महिलाहरूको मानसिक स्वास्थ्य सुदृढ बनाउन तथा सकारात्मक समाज निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।













