गृहपृष्ठ विवाहपञ्चमीमा जनकपुरधाममा राम–सीताको भव्य विवाह उत्सव

विवाहपञ्चमीमा जनकपुरधाममा राम–सीताको भव्य विवाह उत्सव


मंसिर ९, २०८२

काठमाडौँ। त्रेतायुगमा भगवान् राम र सीताको दिव्य विवाह भएको दिनको स्मरणमा आज देशभर विवाहपञ्चमी पर्व श्रद्धा र उत्साहका साथ मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यस अवसरमा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू हुँदैछन्।

रङ्गभूमिमा भव्य समारोह

गोस्वामी तुलसीदासद्वारा वर्णित रामायणअनुसार मार्गशीर्ष शुक्ल पञ्चमीको दिन राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामसँग भएको विश्वास गरिन्छ। यसै दिनलाई स्मरण गर्दै जनकपुरको रङ्गभूमि मैदानमा आज विशाल विवाह महोत्सव आयोजना गरिएको छ।

पौराणिक कथाअनुसार शिव धनुष भाँचेर रामले सीताको स्वयंवर जितेका थिए। स्वयंवरमा ५६ कोटी देवताहरूको उपस्थिति रहेको जनविश्वास रहेको छ।

डोला शोभायात्रा र सांस्कृतिक कार्यक्रम

महोत्सवमा मिथिलाको परम्पराअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार आज सम्पन्न गरिँदैछ।
जनकपुरस्थित राम मन्दिरबाट भगवान् रामको प्रतिमालाई विशेष डोलामा राखी रङ्गभूमितर्फ लगिएको छ भने जानकी मन्दिरबाट सीताको डोला निकालिएको छ। शोभायात्रामा नेपालका विभिन्न स्थान तथा भारतका सीमावर्ती क्षेत्रबाट आएका हजारौँ भक्तजन सहभागी छन्।

रङ्गभूमिमा वर–बधू पक्षबीच हुने सांस्कृतिक ठट्टा, झाँकी, भजन–कीर्तन तथा लाखौँ भक्तको उपस्थितिले वातावरण अत्यन्तै उल्लासमय बनेको छ।

भक्तजनको भीड, पूजा–अर्चना र धार्मिक विश्वास

बिहानैदेखि भक्तजन पवित्र पोखरी र नदीमा स्नान गरी पूजा–अर्चनामा सहभागि भएका छन्।
रामलीला, प्रवचन, संगीत तथा धार्मिक कार्यक्रमले जनकपुरधाम आज पूर्ण रूपमा धार्मिक रंगमा रंगिएको छ।

विवाहपञ्चमीमा सहभागी हुँदै मनोकामना पूरा हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास मिथिलामा गहिरो रूपमा कायम छ।

महोत्सव चार दिनमा सीमित

पहिले एक महिना चल्ने यो महोत्सव पछिल्ला वर्षहरूमा चार दिनमा सीमित भए पनि उत्साह र भक्तिभाव भने झनै बढेको छ।
यसैगरी देशभरका राम–सीता मन्दिरहरूमा पनि विशेष पूजा–अर्चना, आरती र प्रसादी वितरण हुँदै विवाहपञ्चमी मनाइँदैछ।
आजको दिन विवाह गर्न साइत नचाहिने परम्परागत मान्यता समेत प्रचलित छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु