गृहपृष्ठ इन्डोनेसियामा सरकारविरोधी प्रदर्शन हिंसात्मक, कम्तीमा १० को मृत्यु

इन्डोनेसियामा सरकारविरोधी प्रदर्शन हिंसात्मक, कम्तीमा १० को मृत्यु


भाद्र २२, २०८२

इन्डोनेसियामा संसद् भवनबाहिर सुरु भएको सरकारविरोधी प्रदर्शन एक सातायता हिंसात्मक बन्दै गएको छ। बेलायतको अनलाइन पत्रिका द गार्डियनका अनुसार अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु र सयौँ घाइते भएका छन्। आन्दोलनकारीहरूले सरकारी भवनहरूमा तोडफोड र आगजनी गरेका छन्।

प्रदर्शन जकार्ताबाट सुरु भई अन्य मुख्य सहरहरूमा फैलिएको छ। सुलावेसी, जाभा, सुमात्रा र बोर्नेओ टापुका मुख्य सहरहरूमा झडप र आगजनी भएका थिए। जकार्तामा प्रहरी मुख्यालयमा आगजनी गरिएको र प्रहरीमाथि ढुङ्गामुढा भएको थियो।

प्रदर्शनको सुरुवात संसद् भवनअगाडि सांसदहरूको आवास भत्ता वृद्धि विरोधमा भएको थियो। बख्तरबन्द गाडीले २१ वर्षीय युवकलाई किचेर मारेपछि शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बनेको थियो। मकास्सर, सोलो लगायतका सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडपमा थप मृत्यु भएका छन्।

राष्ट्रपति प्रबोवो सुबियान्तोले आवास भत्ता फिर्ता लिने निर्णय गरेका छन् र सुरक्षा बललाई कडा कदम चाल्न निर्देशन दिएका छन्। सात प्रहरी अधिकारीमाथि छानबिन भइरहेको छ।

संयुक्त राष्ट्रसङ्घले बल प्रयोगको छानबिनको माग गरेको छ भने अमेरिका, अस्ट्रेलिया, फ्रान्स, क्यानडाले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन यात्रा चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु