गृहपृष्ठ चाडपर्वमा खाद्यवस्तु अभाव नहुने: आपूर्ति विभाग

चाडपर्वमा खाद्यवस्तु अभाव नहुने: आपूर्ति विभाग


भाद्र २२, २०८२

काठमाडौँ — नजिकिँदै गरेको चाडपर्वमा खाद्यवस्तुको अभाव नहुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक रोशन ज्ञवालीले आइतबार पत्रकार सम्मेलनमा खाद्यवस्तु जस्तै तेल, चिनी र अन्य आवश्यक वस्तुको मौज्दात पर्याप्त रहेको र अभाव नहुने दाबी गरे।

विभागले खुद्रा किराना व्यापारी संघ, खाद्य व्यवसायी संघ, अण्डा तथा लेयर्स उत्पादक संघ र बोटल संघसँग निरन्तर छलफल गर्दै आपूर्ति व्यवस्थालाई चुस्त बनाउने काम गरिरहेको छ। ज्ञवालीका अनुसार, मूल्य निर्धारण बजार स्वतन्त्रमा रहने भए पनि कार्टेलिङ फेला परे विभागले कारबाही गर्नेछ।

चाडपर्वको समयअनुसार दैनिक ६–७ अनुगमन टोली बजारमा खटाइनेछ। केन्द्रीय बजार अनुगमन समितिले एमआरपी अनिवार्य गर्ने, उपभोग्य अवधि उल्लेख गर्नुपर्ने र पानी उद्योगसँग भएका गुनासो समाधान गर्ने निर्णय गरेको छ।

साथै, बिक्री काउन्टरमा अनलाइन डिजिटल क्यास रजिष्टर लागू गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरिने, बढी कारोबार हुने वस्तुहरूको गुणस्तर मापदण्ड निर्धारण गरी अनिवार्य कार्यान्वयन गर्न गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिइएको छ। यातायात व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई पनि अनुरोध गर्ने योजना छ।

विभागले स्थानीय र प्रदेश तहमा उपभोक्ता शिक्षा तथा बजार अनुगमन कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ। पछिल्ला दुई महिनामा विभागले ६५० भन्दा बढी अनुगमन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु