गृहपृष्ठ प्रचण्डको माल्यार्पण, तर पीडित परिवारको मनमा अझै चिसो घाउ

प्रचण्डको माल्यार्पण, तर पीडित परिवारको मनमा अझै चिसो घाउ


सुर्खेत, फागुन २०८१ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा दैलेख पुगे। त्यही अवसरमा उनले डेकेन्द्र चोकस्थित पत्रकार डेकेन्द्रराज थापाको सालिकमा माल्यार्पण गरे। माल्यार्पणअघि थापाको घर पुगेका प्रचण्डले आमासँग भेटघाट गर्दै हत्याप्रति आत्मालोचना जनाए र गल्ती स्वीकारे।

तर, यो माल्यार्पणले न्यायको पर्खाइमा रहेका परिवारजनको मनमा झन् चोट थपिदिएको छ।

डेकेन्द्रकी पत्नी लक्ष्मी थापाले भने, “श्रीमती, छोराछोरी कहाँ छन् भनेर एकपटक पनि सोधिएन। हामीले भोगेको पीडा बुझ्ने प्रयास नै भएन। जसले मेरो श्रीमानको हत्या गर्‍यो, उसैले फेरि सन्चो हुन लागेको घाउ कोट्याइदिएको छ।”

उनको भनाइमा, प्रचण्डको माल्यार्पणबारे आफूलाई जानकारीसम्म थिएन। जेठाजु माओवादी कार्यकर्ता भएकै कारण माल्यार्पण गरिएको हुनसक्ने आशंका उनले व्यक्त गरिन्।

दशकौंदेखिको पीडा र पर्खाइ

२६ वर्षको उमेरमा एकल जीवन सुरु गरेकी लक्ष्मीले छोराछोरीको पालनपोषण संघर्षसाथ गरिन्। उनले भनिन्, “माओवादीले जति दुःख दियो, त्यत्तिकै पीडा घरपरिवारबाट पनि पाएँ। कसैले हामीसँग सहानुभूति राखेन। सबैभन्दा धेरै त पीडा छोराछोरी र श्रीमतीले भोगे।”

डेकेन्द्र थापाको हत्या नेपाल पत्रकारिताको इतिहासमा कालाे अध्यायका रूपमा चित्रित गरिन्छ। २०६१ सालमा माओवादी मिलिसियाले उनलाई अपहरण गरी अमानवीय यातना दिएर हत्या गरेका थिए। शव चार वर्षपछि जंगलको भीरको खोंचमा गाडिएको अवस्थामा फेला परेको थियो। उत्खननको क्रममा मानव अधिकारकर्मी, पत्रकार तथा सुरक्षाकर्मीहरू समेत स्तब्ध भएका थिए।

समाजसेवी, अभियन्ता र सत्यका पक्षधर

थापा केवल पत्रकार मात्र थिएनन्। उनी समाजसेवी, अभियन्ता र जनताको समस्याप्रति समर्पित व्यक्ति थिए। रेडियो नेपालका संवाददाता थापा दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत थिए। खानेपानी समस्या समाधानको पहलमै उनी माओवादीको कब्जामा परे।

२०६१ असार १२ मा अपहरणमा परेका थापालाई माओवादीले ४५ दिनपछि यातना दिई हत्या गरे। २०६५ मा उनकी पत्नीले नौ जनाविरुद्ध किटानी जाहेरी दिइन्। चार वर्षपछि मात्रै प्रक्रिया अघि बढ्यो। २०७१ मा तीन जनालाई जन्मकैद र अन्य एकलाई तीन वर्षको कैद सजाय सुनाइयो।

तर, न्यायप्रणालीको ढिलाइ, राजनीतिक हस्तक्षेप र राज्यको कमजोरीले परिवारजनलाई थप पीडा दियो। प्रमुख अभियुक्तहरू वर्षौँ फरार रहे। अन्ततः २०८१ मा ती अभियुक्तहरूलाई पनि दोषी ठहर गर्दै फैसला सुनाइयो।

साहसी महिलाको सङ्घर्ष

लक्ष्मी थापा हाल वीरेन्द्रनगर नगरपालिका कार्यालयमा कार्यरत छिन्। उनले दुःख, पीडा र अन्याय सहेर पनि छोराछोरीलाई शिक्षित बनाइन्। अहिले ठूली छोरी सिभिल इन्जिनियरिङ, कान्छी छोरी नर्सिङ पढेर अमेरिकामा छन्। छोरा नेपालमै सिभिल इन्जिनियरिङ अध्ययनरत छन्।

अनुत्तरित प्रश्नहरू

प्रचण्डको माल्यार्पणलाई लिएर सामाजिक सञ्जालमा आलोचना चर्किएको छ। “के केवल माला चढाएर पीडालाई मलम लगाउन सकिन्छ?” भन्दै धेरैले प्रश्न उठाएका छन्। माओवादी द्वन्द्वका घाउ अझै ताजा छन्। न्यायको खोजीमा रहेका पीडितहरू अझै प्रतीक्षारत छन्।

प्रचण्डले आत्मालोचना गरेका छन्, तर पीडितहरूको मनमा अनुत्तरित प्रश्नहरू अझै बाँकी छन् — के उनीहरूको पीडा सुन्ने कोही छ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु