गृहपृष्ठ सहरी पूर्वाधार विकासमा अनुभव भएका सन्तोष पाण्डेय लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

सहरी पूर्वाधार विकासमा अनुभव भएका सन्तोष पाण्डेय लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त


कार्तिक १७ , २ं०८३

बुटवल टाइम्स

कल्पना घिमिरे

रुपन्देही । लुम्बिनी विकास कोषको सदस्य सचिवमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ निवासी सन्तोष पाण्डेय नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले संरचनात्मक इन्जिनियरिङ तथा सहरी पूर्वाधार विकास क्षेत्रमा एक दशकभन्दा बढी अनुभव हासिल गरेका इन्जिनियर पाण्डेयलाई कोषको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर गरेका पाण्डेयसँग काठमाडौं महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनात्मक इन्जिनियरका रूपमा काम गरेको अनुभव छ।

उनले स्थानीय तहमा भवन निर्माण मापदण्ड कार्यान्वयन, संरचनात्मक नक्सा परीक्षण तथा प्रमाणीकरण, अग्ला भवनको सुरक्षा मूल्याङ्कन र विद्युतीय भवन निर्माण अनुमति प्रणाली (ई–बीपीएस) को सुधार तथा कार्यान्वयनमा योगदान पुर्‍याएका छन्।

त्यस्तै, निजी क्षेत्रको भिजनरी डिजाइन प्रालिमा समेत संरचनात्मक इन्जिनियरका रूपमा काम गरेका उनले विभिन्न स्थानमा पैदल पुल, भ्यू टावरलगायत पूर्वाधार संरचनाको डिजाइन तथा विश्लेषण गरेका थिए।

नेपालको राष्ट्रिय भवन संहिता (NBC 105:2020) समीक्षा समितिमा सक्रिय योगदान पुर्‍याएबापत उनले सन् २०२४ मा स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल (SEANep) बाट प्रशंसापत्र प्राप्त गरेका थिए। सहरी विकास, भू–उपयोग, जीआईएस, स्मार्ट सिटी, भवन निर्माण संहिता तथा संरचनात्मक सुरक्षासम्बन्धी विभिन्न तालिम र कार्यशालामा समेत उनले सहभागिता जनाएका छन्।

पाण्डेय प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदादेखि नै उनको सचिवालयमा निकट रहेर काम गर्दै आएका थिए। प्राविधिक ज्ञान र प्रशासनिक कार्यअनुभव भएका पाण्डेयको नियुक्तिसँगै लुम्बिनीको संरक्षण, व्यवस्थापन, विकास तथा प्रवर्द्धनका कामले थप गति लिने अपेक्षा गरिएको छ।

नियुक्तिपछि प्रतिक्रिया दिँदै पाण्डेयले आफू रुपन्देहीकै बासिन्दा भएकाले लुम्बिनी क्षेत्रका गतिविधि र स्थानीय समुदायका चासो तथा चिन्ताबारे नजिकबाट जानकार रहेको बताए।

‘म रुपन्देहीको बासिन्दा हुँ। लुम्बिनीमा विगतमा भएका गतिविधि र स्थानीय समुदायका चिन्ताबारे म नजिकबाट जानकार छु। उहाँहरूको भावना समेटेर काम गर्छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु