गृहपृष्ठ खनालको असहमति : ‘माओवादीसँग पार्टी एकीकरण गर्ने मौसम होइन’

खनालको असहमति : ‘माओवादीसँग पार्टी एकीकरण गर्ने मौसम होइन’


आश्विन २६, २०८२

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग पार्टी एकीकरणको तयारीप्रति असहमति जनाएका छन्।

श्रीमतीको उपचारका क्रममा भारतमा रहेका खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै अहिलेको राजनीतिक परिवेश एकीकरणका लागि उपयुक्त नभएको बताएका हुन्। उनले लेखेका छन्, ‘पार्टी एकीकरण गर्ने मौसम होइन र छैन।’

खनालकी श्रीमती रविलक्ष्मी चित्रकार हाल जेन–जी आन्दोलनका क्रममा आगलागीबाट गम्भीर घाइते भई भारतमा उपचाररत छन्। उपचारको सिलसिलामा भारतमै रहेका खनालले काठमाडौँमा जारी पार्टी सचिवालय बैठकका पदाधिकारीहरूलाई पत्र पठाउँदै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले पत्रमा लेखेका छन्, ‘युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनले समग्र राजनीतिलाई उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको दिशातर्फ अघि बढाएको छ।’

खनालले वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट पुनर्गठन र रूपान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनका अनुसार, अहिले हरेक राजनीतिक दलभित्र आन्तरिक रूपान्तरण र पुनर्संरचनाको माग तीव्र बनेको छ।

उनले भनेका छन्, ‘हरेक साना–ठूला पार्टीहरूमा र खुद जेन–जी समूहभित्र समेत उथलपुथल र विभाजन भइरहेका छन्। त्यसैले सबैतिर पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ।’

खनालले वर्तमान चरणलाई ‘सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको समय’ भनेका छन्। उनले पुस्ता परिवर्तन मात्रै होइन, विचार र संगठनात्मक दिशामा समेत रूपान्तरण अपरिहार्य रहेको उल्लेख गरेका छन्।

‘हामी गलत बाटो हिँडेर भड्खालोमा पर्ने दिशातर्फ जानुहुँदैन,’ खनालले लेखेका छन्, ‘हाम्रो पार्टीका लागि अहिले कसैसँग पनि एकीकरण गर्ने उपयुक्त समय होइन।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु