गृहपृष्ठ मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगोका दुई विमानका पखेटा ठोक्किए, सबै यात्रु सकुशल

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगोका दुई विमानका पखेटा ठोक्किए, सबै यात्रु सकुशल


माघ २१, २०८२

काठमाडौं । भारतको मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्। मंगलबार साँझ करिब ७:३० बजे भएको घटनामा कुनै मानवीय क्षति नभएको र सबै यात्रु सकुशल रहेको जनाइएको छ।

भारतको विमान नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) का अनुसार ३ फेब्रुअरी २०२६ मा एयर इन्डियाको फ्लाइट एआई–२७३२ उडान अघि एम–४ पार्किङ बेमा रोकिएको अवस्थामा थियो। सोही समयमा अवतरणपछि पार्किङतर्फ गइरहेको इन्डिगोको ए–३२० विमानसँग त्यसको पखेटाको टुप्पो ठोक्किएको हो।

ठक्करका कारण दुवै विमानको पखेटामा क्षति पुगेको छ। घटनापछि दुवै विमानलाई उडानमा नपठाई प्राविधिक जाँचका लागि रोकिएको डीजीसीएले जनाएको छ। मुम्बईस्थित डीजीसीए कार्यालयका अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार एयर इन्डियाको उक्त विमान मुम्बईबाट तमिलनाडुको कोयम्बटूर जाँदै थियो। सावधानी अपनाउँदै सबै यात्रुलाई विमानबाट ओरालिएको र वैकल्पिक व्यवस्था मिलाइने तयारी गरिएको जनाइएको छ।

एयर इन्डिया र इन्डिगो दुवै एयरलाइन्सले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु