गृहपृष्ठ लिमीबाट विकास माग्दै ६५ जनाको टोली सिमकोट पुगे
लिमीबाट विकास माग्दै ६५ जनाको टोली सिमकोट पुगे
मंसिर ७, २०८२
हुम्ला । हिमालपारिको बस्ती नाम्खा गाउँपालिका–६ लिमीका तिल, हल्जी र जाङ गाउँका बासिन्दा विकासका मागसहित सदरमुकाम सिमकोट पुगेका छन्।
करिब ५,००० मिटर उचाइको न्यालु लेकमा जमेको हिउँ पन्छाउँदै उनीहरू सिमकोट आएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। उनका अनुसार १५ जना महिला र ५० जना पुरुष गरी ठूलो समूह पहिलोपटक विकासका उद्देश्यले सदरमुकाम आएको हो।
न्यालु लेक सडक खण्डमा जमेको बाक्लो बरफ हटाउन ७ घण्टा लागेको वडाध्यक्ष तामाङले बताए। उनका शब्दमा, “गाउँमा विकास धेरै बाँकी भएकाले हामी सबै मिलेर माग राख्न आएको हो।”
लिमी क्षेत्रका बासिन्दाले सञ्चार, सडक, पुल, खाद्यान्न, स्वास्थ्य र शिक्षामा गम्भीर समस्या रहेको भन्दै तिनको समाधानका लागि विभिन्न कार्यालयमा माग राख्ने योजना बनाएका छन्।
डेलिगेशनले आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग भेटेर आफ्नो माग सुनाउने छ। त्यसपछि हिल्सा–सिमकोट सडक योजना, पूर्वाधार विकास कार्यालय र नेपाल टेलिकममा पुगेर समस्याबारे जानकारी गराउने कार्यक्रम तय गरिएको छ।
लिमी क्षेत्रबाट यति ठूलो संख्यामा समूह आएर विकास माग गर्नु पहिलोपटक हो।

















