गृहपृष्ठ केरुङ नाका पाँच महिनादेखि ठप्प, १४ अर्ब राजस्व गुम्यो
केरुङ नाका पाँच महिनादेखि ठप्प, १४ अर्ब राजस्व गुम्यो
मंसिर ७, २०८२
काठमाडौं । नेपाल–चीनको प्रमुख व्यापारिक नाका केरुङ करिब पाँच महिनादेखि अवरुद्ध बनेको छ। चीनको ल्हेन्दे खोलामा असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि नाका पूर्ण रूपमा बन्द भएको हो।
बाढीका कारण नेपालतर्फ रहेका सयौँ ट्रक तथा कन्टेनर बगेका थिए भने करिब ३०० कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा रोकिएका छन्। ढुवानी अवरुद्ध हुँदा चीनबाट सामान आयात गर्ने नेपाली व्यापारीहरू गम्भीर आर्थिक समस्यामा परेका छन्।
नाका बन्द हुँदा सरकारले चालु आर्थिक वर्षका साउनदेखि कात्तिकसम्म लक्षित गरिएको १३ अर्ब ५३ करोड राजस्व संकलन लक्ष्य पूरा गर्न सकेन। यस अवधिमा मात्रै करिब १४ अर्ब रुपैयाँ राजस्व घाटा भएको भन्सार कार्यालयले जनाएको छ।
काठमाडौंबाट १३२ किलामिटर दूरीमा रहेको केरुङ नाका राजस्व संकलनका हिसाबले देशको पाँचौँ ठूलो भन्सार कार्यालय मानिन्छ। चीनसँगको व्यापार विस्तारमा महत्वपूर्ण मानिएको यो नाका लामो समयदेखि बन्द रहँदा आयात–निर्यात पूर्ण रूपमा प्रभावित भएको छ।
चीनतर्फ मितेरी पुलको पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ भने नेपालतर्फ बाढीले अवरुद्ध पारेका सडकहरू खुलाइसकिएका छन्।

















