गृहपृष्ठ महिला हिंसा अन्त्यका लागि पहिले गरिबी हटाउनुपर्छ : प्रधानमन्त्री कार्की
महिला हिंसा अन्त्यका लागि पहिले गरिबी हटाउनुपर्छ : प्रधानमन्त्री कार्की
मंसिर ९, २०८२
काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्य गर्न पहिले गरिबी हटाउनुपर्नेमा जोड दिएकी छन्। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उनले भनिन्, “गरिबी रहँदासम्म समानता हुँदैन। खान छैन भने घरमा के को समानता?”
प्रधानमन्त्री कार्कीले बेरोजगारीको अवस्थाका कारण महिलाहरू रोजगारी खोज्दै विदेश जानु परेको र त्यहाँ हिंसाको सामना गर्नुपर्ने बताउँदै यसको अन्त्य आवश्यक भएको उल्लेख गरिन्। उनले गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्न र सुशासन लागू गर्नुपर्ने पनि बताइन्।
साथै, उनले सरकारमा नियुक्तिमा महिलालाई प्राथमिकता दिइरहेको तर वर्षौं मेहनत गरेका योग्य पुरुषलाई अवसरबाट वञ्चित नगर्ने पनि स्पष्ट गरिन्। “जहाँ महिलालाई अग्रणी भागमा ल्याउन सकिन्छ, त्यहाँ महिलालाई प्राथमिकता दिइएको छ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले महिलाको समानता र हिंसा अन्त्यको वास्तविक सफलता आर्थिक अवसर, रोजगारी, र गरिबी उन्मूलनसँग जोडिएको बताए।










