गृहपृष्ठ ‘स्वास्थ्य चौकी होइन, स्वस्थ नागरिक चाहिन्छ’ : मेयर खाँण

‘स्वास्थ्य चौकी होइन, स्वस्थ नागरिक चाहिन्छ’ : मेयर खाँण

oplus_2

साउन २२ , २०८३

कल्पना घिमिरे

तिलाेत्तमा – तिलोत्तमाका नगर प्रमुख खाँणले नागरिकलाई स्वस्थ राख्न उपचारभन्दा रोग रोकथाममा जोड दिनुपर्ने बताएका छन्। उनले स्वास्थ्य चौकी र अस्पताल थप्नु मात्र स्वास्थ्य समस्याको समाधान नभई योग, व्यायाम, सरसफाइ र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिनुपर्ने बताए।
तिलोत्तमा–३ मा सञ्चालन हुँदै आएको जुम्बा तथा योग अभ्यास कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले नागरिक बिरामी भएपछि उपचार गर्नेभन्दा पनि बिरामी नै नपर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे। स्वस्थ समाज निर्माणका लागि स्थानीय तह, वडा र समुदायबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण पौडेलले स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई सफल बनाउन वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा रहेको दलन रिसोर्ट पछाडिको खाली जग्गामा सञ्चालन हुँदै आएको जुम्बा तथा योग अभ्यासमा स्थानीयको सहभागिता बढ्दै गएको छ। करिब तीन महिनाअघि ३५ जनाबाट सुरु भएको योग अभ्यासमा अहिले दैनिक २०० जनाभन्दा बढी सहभागी हुन थालेका छन्।
बिहान ५ बजेअघि नै स्थानीयहरू योग अभ्यासका लागि पुग्ने गरेका छन्। करिब ५–६ बजेसम्म एक घण्टा सञ्चालन हुने योग अभ्यासले शरीरलाई तन्दुरुस्त र फुर्तिलो बनाएको सहभागीहरूले बताएका छन्। खुला वातावरणमा गरिने योग अभ्यासमा विभिन्न उमेर समूहका व्यक्तिहरूको समेत सहभागिता रहने गरेको छ।
योग प्रशिक्षक नबिन पन्थीले नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए। उनले सबै उमेर समूहका व्यक्तिलाई योगमा सहभागी हुन आग्रह गरे।
गाैतमबुद्व टाेलका राजु प्रसाद उपाध्यायले पनि समुदायस्तरबाट आवश्यक सहयोग गर्ने बताए।
यस अवसरमा महिला टोलीद्वारा बाजागाजासहित नगर प्रमुखको स्वागत गरिएको थियो। कार्यक्रममा जग्गादाता अशोक ज्ञवाली सहयोग कार्यक्रमकाे संयाेजक नित्यानन्द ज्ञवाली ,परिशिक्षक सीता श्रेष्ठ, टाेलका सचिव मञ्जु पन्थी, नरबहादुर कार्की, राजु पौडेललगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु