गृहपृष्ठ सुरुङ युग’को सुरुवात: नागढुङ्गा–सिस्नेखोला मार्ग २०२६ बाट सञ्चालनमा
सुरुङ युग’को सुरुवात: नागढुङ्गा–सिस्नेखोला मार्ग २०२६ बाट सञ्चालनमा
काठमाडौं । आईतवार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस परियोजनालाई नेपालको ‘गौरवको विषय’ को रुपमा व्याख्या गरे। मन्त्रालयका सचिवसहित उच्चस्तरीय टोलीको साथमा निरीक्षणमा निस्केका मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सन् २०२६ को १ जनवरीदेखि सञ्चालन गर्ने बताए।
‘अहिले तीव्र गतिमा निर्माण भइरहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा कात्तिक ७ गतेदेखि प्रारम्भिक रूपमा ‘सब-अपरेशन’ सुरु गरिनेछ ।’ उनले भने, ‘सन् २०२६ जनवरी १ देखि पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।’
‘सिभिल वर्क अक्टोबर २५ मा सकिनेछ,’ मन्त्री दाहालले भने, ‘त्यसपछि हामीलाई सुरुङ हस्तान्तरण गरिनेछ। हामीले यसअघि नै डेमो जस्तो अपरेशन गरी पूर्वतयारी गर्दैछौं। सबै तयारी पूरा गरेर नयाँ वर्ष २०२६ को सुरुवातसँगै पूर्ण सञ्चालनमा ल्याउने योजना बनाएका छौं।’
उनले यो सुरुङमार्गलाई नेपालकै ‘सुरुङ युग’ को सुरुवातको रूपमा पनि परिभाषित गरे।
प्राविधिक दृष्टिले चुनौतीपूर्ण मानिएको यो परियोजनाले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रालाई सहज बनाउन ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नुवाकोटतर्फको यात्रा समय उल्लेख्य रूपमा घट्नेछ। साथै, यो सुरुङ काठमाडौंको पश्चिमी प्रवेशद्वारमा ट्राफिक व्यवस्थापनका हिसाबले पनि उपयोगी हुने अपेक्षा गरिएको छ।
सरकारले सुरुङमार्ग निर्माणलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि सारेको हो। दशकौं लामो तयारीपछि ठोस कार्यान्वयनको चरणमा पुगेको यस आयोजनाले अब देखिने गरी गति लिएको छ।
सुरुङमार्गको निरीक्षणका क्रममा मन्त्री दाहालले प्राविधिक टोली, निर्माण कम्पनी र सम्पूर्ण सम्बन्धित पक्षलाई तोकिएको समयसीमामा काम सम्पन्न गर्न निर्देशन दिएका छन्।








