गृहपृष्ठ रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजार १३२ अझै बेपत्ता

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजार १३२ अझै बेपत्ता


  • भाद्र २२, २०८३

काठमाडौं । रसुवा–भोटेकोसी बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको शव फेला परेको हो।

 

 प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ।

यस्तै, काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको समेत मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइसकिएको छ।

सनाखत हुन बाँकी शवको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित गर्ने कागजातसहित डीएनए नमुना दिन सकिने व्यवस्था गरिएको छ।

प्राधिकरणका अनुसार बाढी तथा अन्य विपद्का कारण अझै ५ हजार १३२ जना सम्पर्कविहीन छन्। रसुवामा मात्रै २ हजार ८६० जना बेपत्ता रहेको विवरणमा उल्लेख छ। त्यसमध्ये रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६ तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी र बैंक तथा वित्तीय संस्थाका कर्मचारीसमेत छन्।

त्यस्तै, नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना रहेको विवरणमा उल्लेख छ। यसबाहेक ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।

प्राधिकरणले सनाखत भइसकेका शवको संख्या सम्पर्कविहीन व्यक्तिको कुल संख्याबाट घटाइएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु