गृहपृष्ठ प्रधानमन्त्री ओलीको गुनासो : “मिडियाले नेपाली भाषाको गरिमा खल्बल्याउँदै छन्

प्रधानमन्त्री ओलीको गुनासो : “मिडियाले नेपाली भाषाको गरिमा खल्बल्याउँदै छन्


२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरूमा प्रयोग हुने भाषाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

गोरखापत्र दैनिकको १२५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली भाषाको सम्मानमा गोरखापत्रले देखाएको प्रतिबद्धता प्रशंसनीय भएको उल्लेख गरे। तर अन्य मिडियामा प्रयोग हुने अमर्यादित तथा अपमानजनक भाषाशैलीप्रति उनले आपत्ति जनाए।

विशेषतः सञ्चारमाध्यममा ‘तिमी’ सम्बोधन हुने प्रवृत्तिप्रति चासो व्यक्त गर्दै उनले भने, “गोरखापत्र नेपाली भाषाको शुद्धताको प्रतीक हो। अन्य पत्रपत्रिकाभन्दा भाषिक आन्दोलन जोगाउने मामिलामा गोरखापत्र अग्रस्थानमा छ। ‘राष्ट्रपतिले उद्घाटन गरे’ भन्नु ठीक होइन, त्यसरी लेख्नाले भाषाको मर्यादा घट्छ।”

राजतन्त्रकालीन पत्रिकामा प्रयोग हुने भाषा र शब्दविन्यासमाथि व्यंग्य गर्दै उनले थपे, “राजाको सन्दर्भमा ‘हिँड्दैन थिए, सवारी गर्थे’, ‘बस्दैन थिए, आराम गर्थे’ भन्ने चलन थियो। अहिले जनताको छोराछोरीलाई सम्मान गर्ने भाषाको साटो अमर्यादित ढंग अपनाइएको छ। ‘यू’ भनेपछि त्यो नाती पनि हुन सक्छ, हजुरबुवा पनि। भाषा गरिब भयो भन्दैमा हाम्रो भाषाको गरिमा कम हुने होइन।”

प्रधानमन्त्री ओलीले गोरखापत्रले समाजको साँचो सेवा गर्दै आएको बताए। “नकारात्मक टिप्पणी गरेर, कृत्रिम बौद्धिकता प्रदर्शन गरेर चरित्र हत्या गर्ने प्रवृत्तिविरुद्ध गोरखापत्रले सामना गर्नुपर्छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु