गृहपृष्ठ ग्यास अभावमा सरकारको कडाइ, काठमाडौंमा जुनसुकै सिलिन्डर साट्न सकिने अभाव सिर्जना गर्नेलाई कारबाही
ग्यास अभावमा सरकारको कडाइ, काठमाडौंमा जुनसुकै सिलिन्डर साट्न सकिने अभाव सिर्जना गर्नेलाई कारबाही
भदाै , २४ ,२०८३
बुटवल टाइम्स
काठमाडौं । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि सरकारले वैकल्पिक व्यवस्था अघि सारेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन सम्बन्धित निकायलाई तत्काल आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।
मन्त्रालयका अनुसार उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएमा सोही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सक्ने व्यवस्था गरिएको छ । बाढीका कारण उत्पन्न आपूर्ति समस्याबाट उपभोक्तालाई तत्काल राहत दिन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
हालका लागि यो व्यवस्था काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने बताइएको छ । व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री यादवले नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन् ।
यसैबीच, संकटको अवस्थामा उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारको निर्देशनविपरीत काम गर्ने व्यवसायी तथा उद्योगमाथि कानुनअनुसार कडा कारबाही गरिने मन्त्री यादवले चेतावनी दिएकी छन् ।















