गृहपृष्ठ त्रिशूली बाढीपछि चार वैकल्पिक सडक सञ्चालनमा : पुर्वधार विकास मन्त्रालय
त्रिशूली बाढीपछि चार वैकल्पिक सडक सञ्चालनमा : पुर्वधार विकास मन्त्रालय
भदौ १८,२०८३
कल्पना घिमिरे
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्र जोड्न चार वटा वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
पुर्वधार विकास मन्त्रालयले १८ गते जारी गरेको प्रेस नोटमार्फत बाढीपछि अवरुद्ध यातायात सञ्चालन गर्न वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको जानकारी दिएकाे हाे। मन्त्रालयका अनुसार पृथ्वी राजमार्गको मास्टारदेखि त्रिशूली पुल पार हुँदै विभिन्न स्थान भएर धादिङबेसीसम्मको १५ किलोमिटर वैकल्पिक सडक सञ्चालनमा आएको छ।
त्यस्तै, त्रिशूली पुल पारिबाट नदीको दायाँ किनार हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म पुग्ने करिब ४० किलोमिटर वैकल्पिक मार्ग सञ्चालन गरिएको छ।
देवीघाटस्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पमा पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार हुँदै जाने ३५ किलोमिटर सडकबाट चारपाङ्ग्रे सवारी सञ्चालनमा ल्याइएको छ।
रसुवा आवतजावतका लागि पनि ढिकुरे हुँदै बोगटीटारसम्मको नुवाकोट खण्डको १२ किलोमिटर सडक सञ्चालनयोग्य बनाइएको मन्त्री लाम्सालले बताएका छन्। रसुवा खण्डमा भने मर्मत कार्य जारी छ।
सडक डिभिजन नुवाकोटले सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार तथा ग्राभेल राख्ने कामलाई निरन्तरता दिइरहेको मन्त्रालयले जनाएको छ।

















