गृहपृष्ठ संकटमा नेतृत्व थाकेर बस्ने होइन, नागरिकलाई भरोसा दिने हो : प्रधानमन्त्री शाह

संकटमा नेतृत्व थाकेर बस्ने होइन, नागरिकलाई भरोसा दिने हो : प्रधानमन्त्री शाह

Oplus_16908288

भदौ १७,२०८३
बुटवल टाइम्स

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घडीमा देशको नेतृत्वले आँसुमा डुबेर विश्राम लिने नभई नागरिकलाई हिम्मत, आँट र भरोसा दिनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट र धादिङमा आएको विपत्तिबाट ज्यान गुमाएका नागरिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। उनले आफन्त गुमाएर शोकमा रहेका परिवारको पीडा सरकार र आफूले गहिरोसँग महसुस गरेको बताए।
‘आफ्नो मान्छे गुमाएर शोकमा रहनुभएका सबैप्रति समवेदना व्यक्त गर्दछु। आफ्नो मान्छे हराएर गहिरो पीडामा रहनुभएकाहरूको पीडा हामी गहिरोसँग महसुस गर्दछौँ,’ उनले भने।
प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट र धादिङमा परेको विपत्ति त्यहाँका नागरिकको मात्र पीडा नभई सिंगो नेपालको छातीमा परेको बज्रपात भएको बताए।
विपत्तिको यस घडीमा सरकार र नेतृत्वलाई थकान तथा व्यक्तिगत पीडाका कारण विश्राम लिने छुट नरहेको उनको भनाइ छ। ‘शरीर थाक्यो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक–आपसमा विलाप गर्ने समय छैन,’ उनले भने।
संकटको समयमा नेतृत्वले नागरिकमा निराशा नभई आशा र भरोसा जगाउनुपर्नेमा जोड दिँदै उनले देशको नेतृत्वले आँसु देखाउनेभन्दा नागरिकलाई हिम्मत र साहस प्रदान गर्नुपर्ने बताए।
‘संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, हिम्मत, आँट र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकार गरेका छौँ,’ प्रधानमन्त्री शाहले भने।
उनले दृढसंकल्प र साहसका साथ विपत्तिको सामना गर्नुको विकल्प नरहेको बताउँदै सरकार त्यसैअनुसार अघि बढिरहेको स्पष्ट पारे।
‘दृढसंकल्प र साहसका साथ विपत्तिमा लड्नुको विकल्प थिएन र हामी लडिरहेका छौँ,’ उनले संसदमा भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु