गृहपृष्ठ रोहिणीमा लालपूर्जा वितरण गर्दै मन्त्री लम्सालको घोषणा– भूमिहीन समस्या अब टुंग्याइन्छ
रोहिणीमा लालपूर्जा वितरण गर्दै मन्त्री लम्सालको घोषणा– भूमिहीन समस्या अब टुंग्याइन्छ
oplus_2
साउन २२, २०८३
कल्पना घिमिरे
भैरहवा, साउन २२ — रुपन्देहीको रोहिणी गाउँपालिका–५ अन्तर्गत गाउँब्लक क्षेत्रका २७१ जना स्थानीयलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ।
शुक्रबार आयोजित कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव तथा नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीलगायतले लाभग्राहीलाई लालपूर्जा हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले यही वर्ष आवश्यक विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो। उहाँले समस्या समाधानका लागि स्थानीय तह, प्रमुख जिल्ला अधिकारी तथा नापी कार्यालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै जनताका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले रोहिणी गाउँपालिकाको पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै सडक, विद्यालय र स्वास्थ्य चौकीको स्तरोन्नति गरिने तथा डुबान समस्याको दीर्घकालीन समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। असोज महिनादेखि रोहिणी गाउँपालिकामै बसेर मन्त्रालय सञ्चालन गर्दै नागरिकका गुनासा प्रत्यक्ष सुन्ने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले वर्षौंदेखि लालपूर्जाविहीन रहेका नागरिकलाई स्वामित्वको प्रमाणपत्र उपलब्ध गराउन सफल भएको बताउँदै यो गाउँपालिका, नापी कार्यालय र सम्बन्धित निकायको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो।
नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले रोहिणी गाउँपालिकाको समन्वयका कारण कार्यक्रम सफल भएको बताउँदै यसलाई नागरिकको सम्पत्ति अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले गाउँब्लक क्षेत्रमा लामो समयदेखि भोगचलन गर्दै आएका नागरिक कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या भोग्दै आएको उल्लेख गर्दै नापी कार्यालय र गाउँपालिकाको समन्वयबाट लालपूर्जा वितरण सम्भव भएको बताउनुभयो।
कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेश सदस्य संजयकुमार गुप्ता, रोहिणी गाउँपालिका–२ का पूर्व वडाध्यक्ष सरोजकुमार पाण्डेय, वरिष्ठ प्रशासकीय अधिकृत विकास ज्ञवालीलगायतको उपस्थिति रहेको थियो।












