गृहपृष्ठ ज्ञानु पौड्यालको प्रतिबद्धता: संसदमार्फत सुशासन र परिणाममुखी राजनीतिमा जोड

ज्ञानु पौड्यालको प्रतिबद्धता: संसदमार्फत सुशासन र परिणाममुखी राजनीतिमा जोड


बैशाख १७ , २०८३
कल्पना घिमिरे

रूपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकी ज्ञानु पौड्यालले जनताको विश्वासलाई आत्मसात् गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पार्टीले प्राप्त गरेको जनमतको सम्मान गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर जनअपेक्षाअनुसार काम गर्ने बताउनुभयो।

बालबालिकाको अधिकार संरक्षण, महिला सशक्तीकरण, सामाजिक न्याय, समावेशी विकास तथा समुदायमा सकारात्मक परिवर्तनका लागि लामो समयदेखि निरन्तर सक्रिय रहँदै आउनुभएकी पौड्यालले सामाजिक सेवाबाट आफ्नो सार्वजनिक जीवनको यात्रा प्रारम्भ गर्नुभएको हो। समाजका पछाडि पारिएका वर्ग, महिला, बालबालिका तथा विपन्न समुदायका हक–हितका विषयमा उहाँले निरन्तर आवाज उठाउँदै विभिन्न सामाजिक अभियान, जनचेतनामूलक कार्यक्रम तथा समुदाय केन्द्रित गतिविधिमार्फत उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। सामाजिक क्षेत्रमा हासिल गरेको अनुभव, जनतासँगको निकट सम्बन्ध र सेवाभावका कारण उहाँले राजनीतिमा पनि छुट्टै पहिचान स्थापित गर्न सफल हुनुभएको छ।

चितवनमा सम्पन्न पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि आफ्नो प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “यो विजय मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, परिवर्तन, सुशासन र जिम्मेवार राजनीतिको पक्षमा उभिनुभएका सम्पूर्ण प्रतिनिधि तथा आम नागरिकको विश्वासको सम्मान हो। देशभरबाट आउनुभएका प्रतिनिधिहरूले मप्रति व्यक्त गर्नुभएको विश्वासका लागि म हृदयदेखि नै आभारी छु। अब यो विश्वासलाई परिणाम देखिने काममार्फत कायम राख्ने जिम्मेवारी मेरो काँधमा आएको छ।”

उहाँले महाधिवेशनले सक्षम, इमानदार र दूरदर्शी नेतृत्व चयन गरेको उल्लेख गर्दै पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा अझ सुदृढ, प्रभावकारी र जनउत्तरदायी बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो। जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने, सुशासनको प्रत्याभूति दिलाउने र विकासका प्रतिफल नागरिकको घरदैलोसम्म पुर्‍याउने अभियानमा आफू निरन्तर समर्पित रहने उहाँको भनाइ थियो।

प्रतिनिधि सभा सदस्य तथा प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिकी सदस्यसमेत रहनुभएकी पौड्यालले संसद्मा महिला अधिकार, बालअधिकार, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षासम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ। नीति निर्माणदेखि कार्यान्वयन तहसम्म जनताको आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्न उहाँले निरन्तर पहल गर्दै आउनुभएको छ।

उहाँका अनुसार राजनीति पद र प्रतिष्ठा प्राप्त गर्ने माध्यम मात्र नभई समाज रूपान्तरण, जनसेवा र राष्ट्र निर्माणको साझा अभियान हो। त्यसैले जनताले अनुभूति गर्ने गरी विकास, सुशासन र उत्तरदायी राजनीतिक संस्कृतिको स्थापना गर्न आफू सदैव क्रियाशील रहने उहाँको प्रतिबद्धता छ।

महाधिवेशनमा उहाँले ९१९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। उहाँको विजयलाई सामाजिक क्षेत्रको लामो अनुभव, जनविश्वास, समर्पित नेतृत्व क्षमता र परिवर्तनप्रतिको प्रतिबद्धताको सम्मानका रूपमा समेत हेरिएको छ। पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले उहाँको निर्वाचनले रास्वपालाई अझ सशक्त, समावेशी र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु