गृहपृष्ठ रास्वपाको केन्द्रीय सदस्यमा लुम्बिनीबाट ५० आकांक्षी,

रास्वपाको केन्द्रीय सदस्यमा लुम्बिनीबाट ५० आकांक्षी,


असार ७ , २०८३

बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि लुम्बिनी प्रदेशबाट करिब ५० जना आकांक्षी देखिएका छन्। आकांक्षीमध्ये रुपन्देही जिल्लाका नेताहरूको संख्या उल्लेख्य रहेको छ।

प्रतिनिधिसभा सदस्यदेखि पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। महाधिवेशनस्थलमा रहेका पत्रकार तथा महाधिवेशन प्रतिनिधि गुनाराम घिमिरेका अनुसार रुपन्देहीका ज्ञानु पौडेल, गोपाल घिमिरे, डा. बुद्धि शर्मा, डा. योगेन्द्र अग्रहरी, अमृत भुसाल, कल्पना पाण्डे, सुलभ खरेल, महेन्द्र गुप्ता, पुनमकुमारी अग्रवाल र अमृता विकलगायत केन्द्रीय सदस्यका लागि सक्रिय रूपमा चुनावी मैदानमा छन्।

त्यस्तै, दाङका विपिन आचार्य केन्द्रीय पदाधिकारी पदका आकांक्षीका रूपमा अघि बढिरहेका छन्। दाङकै देवराज पाठक, कान्तिशिखा धिताल, सुशिला अधिकारी, कमल सुवेदी, सुरेश चौधरी तथा दीपेन्द्र लामालगायत नेताहरू पनि केन्द्रीय सदस्य पदका लागि चुनावी अभियानमा सक्रिय छन्।

कपिलवस्तुका नारायणप्रसाद खनाल र मिर्जा राशिद बेग, गुल्मीका गोविन्द पन्थी र भोजराज पाण्डे पनि केन्द्रीय सदस्य पदका दाबेदारका रूपमा देखिएका छन्। गुल्मीका सागर ढकाल केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गर्ने चर्चासमेत चलेको छ।

बाँकेका निलराज अधिकारी, जमुना शर्मा र गोविन्द थारु, अर्घाखाँचीका जनक भुसाल, बर्दियाका महेश दहित, कविराम सुनार र दीपक खनाल तथा रोल्पाका रमेश थापालगायत नेताहरू पनि केन्द्रीय सदस्य पदका लागि तयारीमा छन्। प्यूठानका सुशान्त वैद्य र माधव भण्डारीले समेत उम्मेदवारी दिने तयारी गरिरहेका छन्।

लुम्बिनी प्रदेशबाट रास्वपाका प्रभावशाली नेताहरूमा विपिन आचार्य र सागर ढकालको नाम अग्रपंक्तिमा रहेको छ। यसैबीच, प्रदेश सभापति पदको निर्वाचनमा प्रतिस्पर्धा गरेका गोपाल घिमिरेले पहिलो चरणमा कुनै उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि सहमतिको पक्षमा उभिँदै अर्को उम्मेदवारलाई समर्थन गरेका थिए। पार्टीको संगठन विभागका केन्द्रीय सदस्यसमेत रहेका घिमिरे अहिले केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा छन्।

रास्वपाको केन्द्रीय सदस्य पदका लागि लुम्बिनी प्रदेशबाट करिब एक दर्जन सांसदसमेत चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु