गृहपृष्ठ लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीको राजीनामा, नयाँ नाम सिफारिस

लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीको राजीनामा, नयाँ नाम सिफारिस


जेठ  २० , २०८३

बुटवल टाइम्स

बुटवल — लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेले मन्त्री परिवर्तन प्रक्रिया अघि बढाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मंगलबार राजीनामा दिएका छन्।

राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी तथा स्वास्थ्य मन्त्री खेम सारुमगर रहेका छन्।

मुख्यमन्त्री आचार्यले आफ्नै सल्लाह र निर्देशनमा मन्त्रीहरूले राजीनामा दिएको बताएका छन्। सत्ता साझेदार नेपाली कांग्रेससँग सरकारको नेतृत्व परिवर्तन र मन्त्रिपरिषद् पुनर्गठनबारे लामो समयदेखि छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको हो।

यसअघि जेठको पहिलो सातामै मन्त्री परिवर्तनको तयारी भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन हुनुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको थियो। पछिल्लो पटक भने एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मन्त्री परिवर्तनको निर्णय कार्यान्वयनमा आएको स्रोतको दाबी छ।

एमाले स्रोतका अनुसार मन्त्री पदका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ। खत्री यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् भने अन्य तीन जना सम्भावित नयाँ अनुहारका रूपमा अगाडि आएका छन्।

दोस्रो कार्यकालका प्रदेशसभा सदस्य भए पनि हालसम्म मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकता दिने एमालेको रणनीतिअनुसार रामजी घिमिरे र तुलसीप्रसाद चौधरीको नाम अगाडि आएको बताइएको छ। प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसाललाई समेत मन्त्रीका लागि उपयुक्त विकल्पका रूपमा हेरिएको छ।

यता प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने निर्णय गरिसकेको छ। उक्त व्यवस्था सरकारको आगामी नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ। कांग्रेसबाट भावी मुख्यमन्त्री को बन्ने भन्ने विषय भने अझै टुंगो लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु