गृहपृष्ठ धर्मश्री उपाधि पुनः उमेश राईको पोल्टामा

धर्मश्री उपाधि पुनः उमेश राईको पोल्टामा


चैत्र १०,
गोर्खाली फिटनेसका उमेश राईले १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। शनिबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा अबेर सम्पन्न प्रतियोगितामा उनले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि हात पारे।

राईले उपाधिसँगै नगद १२ लाख रुपैयाँ, ११ किलो तौलको ट्रफी, मेडल, प्रमाणपत्र, चीन भ्रमणको अवसर तथा अन्य विभिन्न उपहार प्राप्त गरे। उनी यसअघि १६औं संस्करणको पनि विजेता थिए।

उपविजेता बनेका ललित धिमालले नगद ६ लाख रुपैयाँ प्राप्त गरे भने तेस्रो स्थानमा रहेका माधव सुवेदीले ३ लाख रुपैयाँमा चित्त बुझाए।

काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजन र नेपाल व्यायाम मन्दिरको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न ६ तौल समूहका विजेताहरूले अन्तिम चरणमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

राई ८० केजीभन्दा माथिको तौल समूहमा पहिलो हुँदै ओभरअल विजेता बनेका हुन्।

चौथो स्थानमा अशिम बाबु गुरुङले २ लाख रुपैयाँ, पाँचौं स्थानमा विनोद सुनुवारले १ लाख ८० हजार रुपैयाँ र छैठौं स्थानमा सिद्धान्त जसरोटियाले ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरे।

महिला बडीबिल्डिङतर्फ तारा खाइजु पहिलो स्थानमा रहिन्।

मास्टर्स बडीबिल्डिङतर्फ किशोर शाहीले शीर्ष स्थान हासिल गरे।

पुरुष स्पोट्र्स फिजिकमा १७० सेमीभन्दा मुनिको समूहमा आकाश श्रेष्ठ तथा १७० सेमीभन्दा माथिको समूहमा रमन तुलाधर विजेता बने।

विजेताहरूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलगायत अतिथिहरूले पुरस्कार वितरण गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु