गृहपृष्ठ सानो विमान व्यस्त सडकमा दुर्घटनाग्रस्त, केही घाइते

सानो विमान व्यस्त सडकमा दुर्घटनाग्रस्त, केही घाइते


माघ २७, २०८२

अमेरिकाको जर्जिया राज्यको गेनसभिल सहरमा एक सानो प्रशिक्षण विमान व्यस्त सडकमा आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ।

स्थानीय समाचार संस्थाहरूका अनुसार सोमबार उक्त विमान सडकमा अवतरण गर्ने क्रममा सडकमा गुडिरहेका सवारी साधनहरूमा ठोक्किएको हो। प्रहरीका अनुसार एक इन्जिनयुक्त विमानमा प्राविधिक समस्या देखिएपछि पाइलटले आपतकालीन अवतरण गर्न बाध्य भएका थिए।

प्रहरीले विमानमा पर्याप्त शक्ति नहुँदा नजिकैको विमानस्थलसम्म फर्किन नसकेपछि पाइलटले सडकमै आकस्मिक अवतरण गरेको जनाएको छ। अवतरणपछि विमानको दायाँ पखेटाले एउटा सवारी साधनलाई छोएको थियो, जसका कारण विमानको इन्धन ट्यांकी छुट्टिएर एउटा एसयुभीको पछाडिको भाग हुँदै अर्को सवारी साधनसम्म पुगेको बताइएको छ।

दुर्घटनामा तीन वटा सवारी साधन क्षतिग्रस्त भएका छन् भने केही व्यक्ति सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियोमा विमान व्यस्त सडकमा अवतरण गरेपछि क्रमशः सवारी साधनहरूमा ठोक्किँदै गएको देखिन्छ।

विमान दुर्घटनापछि उक्त सडक अस्थायी रूपमा बन्द गरिएको छ। स्थानीय प्रशासनले लामो समयसम्म ट्राफिक जाम हुन सक्ने भन्दै सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटिएसबी) का अनुसार विमान गेनसभिलस्थित ली गिल्मर मेमोरियल विमानस्थलबाट क्यान्टनको चेरोकी काउन्टी क्षेत्रीय विमानस्थलतर्फ जाँदै गर्दा उडानको केही समयमै इन्जिनमा समस्या आएको थियो। पाइलटले गेनसभिलमै फर्केर अवतरण गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्।

संघीय नागरिक उड्डयन प्रशासन (एफएए) का अनुसार हकर बिचक्राफ्ट बीई–३६ विमानले स्थानीय समयअनुसार सोमबार दिउँसो १२:१० बजे आपतकालीन अवतरण गरेको हो। एफएएले घटनाबारे छानबिन सुरु गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु