गृहपृष्ठ भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, केरल, तामिलनाडु र महाराष्ट्र सबैभन्दा प्रभावित

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, केरल, तामिलनाडु र महाराष्ट्र सबैभन्दा प्रभावित


भारतमा केही समययता स्थिर देखिएको कोरोनाभाइरस (कोभिड-१९) संक्रमण फेरि विस्तार हुन थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सरकारी तथ्यांकलाई उद्धृत गर्दै टाइम्स अफ इन्डिया ले मे महिनायता संक्रमितको संख्या तीव्र रूपमा वृद्धि भएको उल्लेख गरेको छ।

समाचार अनुसार, मे महिनाको सुरुवातसम्म संक्रमणको दर न्यून थियो। तर, पछिल्लो तथ्यांकअनुसार देशभर कोरोना संक्रमितको संख्या २५७ पुगेको छ। तीमध्ये १२ मे यता मात्रै १६४ जना नयाँ संक्रमित थपिएका छन्।

दिल्लीमा अघिल्लो साता दुई संक्रमितको मृत्यु समेत भएको टाइम्स अफ इन्डिया ले जनाएको छ। यद्यपि मृतकहरूमा अन्य दीर्घरोगहरू समेत देखिएको कारण संक्रमणको प्रत्यक्ष प्रभावको पुष्टि हुन बाँकी रहेको उल्लेख गरिएको छ।

तीन राज्य—केरल, तामिलनाडु र महाराष्ट्र—सबैभन्दा बढी प्रभावित भएका छन्। कुल संक्रमितमध्ये ८५ प्रतिशत संक्रमित यिनै राज्यहरूमा छन्। विवरण अनुसार, केरलमा ९५, तामिलनाडुमा ६६ र महाराष्ट्रमा ५६ जना सक्रिय संक्रमित छन्। अन्य राज्यहरूको स्थिति यसप्रकार छ: दिल्लीमा २३, पुडुचेरीमा १०, कर्नाटकमा १३, गुजरातमा ७, राजस्थानमा २, र हरियाणा, सिक्किम तथा पश्चिम बंगालमा एक/एक जना संक्रमित रहेका छन्।

केरलमा मात्रै पछिल्लो समयमा ६६ जना नयाँ संक्रमित फेला परेको जानकारी दिइएको छ। तर, तीमध्ये कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको छैन र अधिकांश संक्रमितमा गम्भीर लक्षण नदेखिएको टाइम्स अफ इन्डिया को रिपोर्टमा उल्लेख छ।

स्वास्थ्य विशेषज्ञहरूले स्थिति हाललाई ‘नियन्त्रणयोग्य’ भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। परीक्षण, ट्रेसिङ र निगरानी प्रणालीलाई सुदृढ बनाउने कार्यमा केन्द्र र राज्य सरकारहरू जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु