गृहपृष्ठ “एक मात्र दोष प्रमाणित भए राजनीतिबाट विदा हुने गृहमन्त्री लेखकको घोषणा
“एक मात्र दोष प्रमाणित भए राजनीतिबाट विदा हुने गृहमन्त्री लेखकको घोषणा
काठमाडौं, जेठ १० — गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध भइरहेको प्रचारप्रति कडा आपत्ति जनाउँदै चुनौतीका साथ भनेका छन्, “मेरो जीवनमा यदि कुनै एकवटा मात्र आर्थिक अनियमितता प्रमाणित भयो भने म राजनीतिबाटै राजीनामा दिन तयार छु।”
शनिबार साँझ सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यो चेतावनी दिएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रणालीअन्तर्गतको ‘भिजिट भिसा सेटिङ’ प्रकरणमा नाम जोडिएपछि मन्त्री लेखकविरुद्ध चर्किएको विवादलाई उनले नियोजित षड्यन्त्रको संज्ञा दिएका छन्।
उनले भने, “यो विषय केवल अध्यागमन वा भिजिट भिसासम्म सीमित छैन। मेरो सार्वजनिक र राजनीतिक जीवनमा एकजना व्यक्ति वा निकायले कुनै एक आर्थिक अनियमितता प्रमाणित गर्न सके भने, म केवल पदबाट होइन, पूर्णरूपमा राजनीतिबाटै अलग हुनेछु।”
गृहमन्त्री लेखकले आफूविरुद्ध उठेका प्रश्नहरूलाई सम्बोधन गर्न जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा बोल्ने समय माग गरिसकेको बताएका छन्। “सम्मानित संसद्मा सम्पूर्ण तथ्यहरू राख्नेछु,” उनले स्पष्ट पारे।
“कर्मचारीमाथिको अनुसन्धान मन्त्रीको जिम्मेवारी होइन”
गृह मन्त्रालयअन्तर्गत लाखौं कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै उनले सो मन्त्रालयभित्रका अनियमितताका लागि सिधै मन्त्रीलाई दोषी ठहर गर्ने प्रवृत्ति गलत भएको बताए। “यदि कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु भयो भन्दैमा मन्त्रीहरू राजीनामा दिनुपर्ने परिपाटी बसाउने हो भने, त्यो व्यावहारिक र न्यायसंगत हुँदैन,” उनले प्रश्न गरे।
यता, अध्यागमन प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री लेखकको राजीनामा माग गरिसकेको छ। तर, गृह मन्त्रालयले मन्त्रीको कुनै ‘सेटिङ’ वा प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पार्दै मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ।
लेखकले अन्त्यमा भने, “मेरा विरुद्ध राजनीतिक उद्देश्यसहित, नियोजित र षड्यन्त्रमूलक रूपमा झुटो प्रचार गरिएको छ, म संसद्भित्र यसको स्पष्ट जवाफ दिनेछु।”
न्युज एजेन्सी नेपाल










