गृहपृष्ठ डेढ महिनामा तीनको ज्यान लियो जापानीज इन्सेफ्लाइटिस, नौ जना डेङ्गी संक्रमित

डेढ महिनामा तीनको ज्यान लियो जापानीज इन्सेफ्लाइटिस, नौ जना डेङ्गी संक्रमित


भाद्र २३, २०८२

नवलपरासी — पश्चिम नवलपरासीको बर्दघाट सुस्तापश्चिम क्षेत्रमा जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ भने नौ जनामा डेङ्गी रोग पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माका अनुसार बर्दघाट नगरपालिका–१२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषले उपचारका क्रममा ज्यान गुमाएका हुन्। विगत डेढ महिनाभित्र खोप नलगाएका वृद्धहरूको मृत्यु भएको उनले बताए।

शर्माका अनुसार हालसम्म जिल्लामा नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ। सरसफाइको कमी र लामखुट्टेको उच्च सङ्ख्याका कारण रोग तीव्र गतिमा फैलिन थालेको छ। जोखिम न्यूनीकरणका लागि स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण, सरसफाइ र जनचेतनामूलक अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए।

स्वास्थ्यविद्हरूका अनुसार जापानीज इन्सेफ्लाइटिस तथा डेङ्गी रोग सर्ने प्रमुख कारण लामखुट्टेको टोकाइ हो। हाँस, कुखुरा, सुँगुर वा बङ्गुरजस्ता जनावरमा सङ्क्रमण देखिएपछि लामखुट्टेले टोकेर मानिसमा रोग सार्ने गर्छ। विशेषगरी एडिस एजिप्टी प्रजातिको लामखुट्टेले डेङ्गी रोग फैलाउँछ भने क्युलेक्स प्रजातिको लामखुट्टेले जापानीज इन्सेफ्लाइटिस सङ्क्रमण सार्ने गर्छ।

डाक्टर नुरुल होदाका अनुसार डेङ्गीका लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, आँखामुनि दुख्ने, स्नायु तथा मांसपेशी पीडा, खान नखानुजस्ता समस्या देखिन्छन्। समयमा उपचार नपाए मृत्यु समेत हुनसक्छ। त्यस्तै, जापानीज इन्सेफ्लाइटिस लागेपछि मस्तिष्क सुन्निने, पक्षाघात हुने, रिङटा लाग्ने, बेहोस हुने र मृत्युको जोखिम रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु