गृहपृष्ठ कांग्रेस महामन्त्री शर्माको प्रस्ताव : ‘३० मुनिका ३०’ अवधारणासहित विधान संशोधनको पहल
कांग्रेस महामन्त्री शर्माको प्रस्ताव : ‘३० मुनिका ३०’ अवधारणासहित विधान संशोधनको पहल
आश्विन ११, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र रुपान्तरण सुरु गर्न विधान संशोधन अपरिहार्य भएको बताएका छन्।
शुक्रबार बाराको कलैया र पर्साको बीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवाको प्रतिनिधित्व संस्थागत गर्न ‘३० मुनिका ३०’ अवधारणा अघि सारे।
शर्माले भने, “पार्टीको आगामी महाधिवेशनबाटै ३० वर्ष मुनिका युवाहरूलाई केन्द्रीय समितिमा समेट्ने गरी विधान संशोधन गर्नुपर्छ। प्रत्येक क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा ३० मुनिका निश्चित संख्या तोकौं। ती प्रतिनिधिहरू मात्रै मतदाता र उम्मेदवार रहने गरी ‘३० मुनिका ३०’ प्रणालीमार्फत केन्द्रीय समितिमा निर्वाचित गर्ने व्यवस्था गरौं।”
विदेशस्थित जनसम्पर्क समितिबाट पनि सहभागिता सुनिश्चित गर्नुपर्ने भन्दै उनले प्रत्येक महादेशबाट एक/एक जना तथा मध्यपूर्व क्षेत्रबाट अलग्गै एक जनालाई केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे।
गुटबन्दीलाई पार्टीको सबैभन्दा ठूलो चुनौतीको रूपमा चित्रण गर्दै उनले भने, “देश, लोकतन्त्र र पार्टी नै खतरामा परेको बेला ‘गुट जोगाउँदै थिएँ’ भन्ने उत्तर दिनुपर्ने अवस्था आउनु हुँदैन। गुटको उँटबाट ओर्लेर विवेकको सिँढी उक्लिनुस्। रुपान्तरणको सोच र संकल्प ल्याउनुस्। जेनजी आन्दोलनले खोजेको परिवर्तन हामीबाटै सुरु गरौं।”
महामन्त्री शर्मा हालै बार र पर्सामा भएका तोडफोड तथा आगजनीको अवस्थाको अवलोकनका लागि शुक्रबार बिहान रौतहट हुँदै कलैया र बीरगन्ज पुगेका थिए।










