गृहपृष्ठ चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि र नर्सिङमा अध्ययन सिट संख्या वृद्धि गर्ने सरकारी घोषणा
चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि र नर्सिङमा अध्ययन सिट संख्या वृद्धि गर्ने सरकारी घोषणा
काठमाडौँ — सरकारले आगामी वर्षदेखि चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि र नर्सिङ जस्ता उच्च शिक्षाका क्षेत्रमा भर्ना सिट संख्या बढाउने घोषणा गरेको छ। बिहीबार संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ती क्षेत्रहरूमा जनशक्ति अभाव हुन नदिन सिट संख्या विस्तार गरिने बताएका हुन्।
‘चिकित्सा, इन्जिनियरिङ, नर्सिङ र सूचना प्रविधिलगायतका विषयमा आवश्यक जनशक्ति आपूर्ति सुनिश्चित गर्न हालका मापदण्डहरूको पुनरावलोकनसहित अध्ययन कोटा वृद्धि गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने।
बजेट वक्तव्यमा आर्थिक सुधार उच्चस्तरीय कार्यदलका सिफारिसअनुसार मेडिकल शिक्षामा दिइने छात्रवृत्तिलाई विशेष गरी आर्थिक रूपमा कमजोर, जेहेन्दार र अति दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरिने उल्लेख गरिएको छ।
सरकारले देशभरका विभिन्न मेडिकल कलेजहरूको पूर्वाधार विकासमा पनि जोड दिएको छ। बर्दिबास, बुटवल, सुर्खेत र डडेलधुरा क्षेत्रमा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजका पूर्वाधार अघि बढाउन ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, मदन भण्डारी प्राविधिक विश्वविद्यालय र योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माण गरिनेछ भने सहिद दशरथचन्द्र चिकित्सा विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ।
यस घोषणाले देशको स्वास्थ्य, प्राविधिक र सूचना क्षेत्रमा दीर्घकालीन जनशक्ति आपूर्तिका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।









