गृहपृष्ठ कोरोनाबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला भ्रामक: इपिडिमियोलोजी महाशाखा
कोरोनाबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला भ्रामक: इपिडिमियोलोजी महाशाखा
१४ जेठ, काठमाडौं। पछिल्लो समय सामाजिक सञ्जालमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको भन्दै चासो बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले स्पष्टिकरण दिएको छ।
महाशाखाका निर्देशक डा. चन्द्र भाल झाका अनुसार, हालै सामाजिक सञ्जालमा चर्चा गरिएको सात जना संक्रमितको विवरण एकै दिनको नभई विगत दुई महिनामा क्रमशः पुष्टि भएका केसहरू हुन्। “केही सञ्चारमाध्यमलेसँग नयाँ भेरियन्ट फैलिएको भन्दै अतिरञ्जित रिपोर्टिङ गरे, जुन पूर्णतः भ्रामक छ,” डा. झाले भने, “यी केसहरू नियमित परीक्षणको क्रममा दुई महिनाभित्र विभिन्न समयमा पुष्टि भएका हुन्।”
इपिडिमियोलोजी महाशाखाको निगरानी प्रणालीअनुसार, विशेष रोगहरू देखिएपछि स्वतः रिपोर्ट हुने प्रणालीबाट ती केसहरू सूचित भएका हुन्। तीमध्ये छ वटा केस धुलिखेल अस्पतालको प्रयोगशालाबाट र एक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पुष्टि भएको जानकारी उनले दिए।
धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याब प्रमुख डा. राजीव श्रेष्ठका अनुसार, ती केसहरू अस्पतालमा भर्ना भएका बिरामीहरूको नियमित परीक्षणमा भेटिएका थिए। “उक्त केसहरू अहिलेको हैन, दुई महिनाअघि नै पुष्टि भएका थिए,” उनले बताए।
डा. श्रेष्ठले भारतमा हाल देखिएको भनिएको नयाँ भेरियन्टसँग ती केसहरूको सम्बन्ध नरहेको स्पष्ट पारे। उनका अनुसार ती संक्रमितहरूमा अघिल्लो वर्ष देखिएको ओमिक्रोनको सबभेरियन्ट J.1 मात्र पाइयो, जुन हाल नियमित रूपमा देखिँदै आएको प्रकार हो।
“कोरोना अब फ्लु जस्तै बनिसकेको छ, जसलाई सधैं सतर्कताका साथ निगरानी गर्नुपर्ने अवस्था हो,” डा. श्रेष्ठले बताए, “ती संक्रमितहरू सबै पूर्ण रूपमा निको भइसकेका छन्।”
डा. झाका अनुसार, ती संक्रमितमध्ये कोही पनि लामो समयदेखि विदेश यात्रा नगएको हुँदा नयाँ भेरियन्ट बाहिरबाट भित्रिएको सम्भावना छैन। यद्यपि भारत र अमेरिकामा केसहरू बढिरहेको बेला नेपालमा सामाजिक सञ्जालमा यस्ता खबरहरू अतिरञ्जित रूपमा फैलिएको देखिएको छ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार, कोरोना महामारीको रूपमा नरहे पनि अब सामान्य भाइरल रोगका रूपमा समय–समयमा देखिने सम्भावना रहन्छ। डा. श्रेष्ठले भने, “कोरोना पनि रुघाखोकी, हैजा वा दादुराजस्तै समाजमा यदाकदा देखिने खालको संक्रमण हो। सतर्कता अपनाइराख्न आवश्यक छ।”
उनले नयाँ भेरियन्टहरू देखा पर्दा संक्रमण फैलन सक्ने भएकाले खोप लगाएर सजग रहन आग्रह गरे।
महाशाखा निर्देशक डा. झाले निगरानी प्रणालीलाई थप बलियो बनाएको दाबी गर्दै सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कहरूलाई पनि अझ प्रभावकारी बनाउन निर्देशन दिइएको जानकारी दिए। “हालसम्म नेपालमा कुनै पनि नयाँ भेरियन्ट पुष्टि भएको छैन, तर हामीले सतर्कता अपनाएका छौं,” उनले भने।










